दर्शकको साथले नेपालबाटै लगानी उठाउँछौंः ‘ऐंचो पैंचो’ निर्देशक
यहि भदौ १४ लाई प्रदर्शन मिति तोकेको फिल्म ‘ऐंचो पैंचो’ टिम यतिबेला अन्तिम प्रचार प्रसारमा व्यस्त छ । कलाकारदेखि निर्माता, निर्देशक मिडिया, सोसियल मिडियादेखि दर्शकसँग सिधा पुग्न सकिने हरेक ठाउँ पुगेर फिल्मबारे बताइरहेका छन् । हेर्न अपिल गरिरहेका छन् । कृषा चौलागाई निर्देशित यो फिल्ममा स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुसाल, सुशील सिटौला मुख्य अभिनयमा छन् ।
राजनीति , कमेडी र प्रेमको समिश्रण रहेको फिल्मलाई लिएर निर्देशक चौलागाईं सफलता टाढा नरहेको बताउँछिन् । उनका अनुसार ‘ऐंचो पैंचो’ पारिवारिक सामाजिक विषयमा केन्द्रित फिल्म हो । यसमा समाजमा हुने राजनीति पनि छ । युवामा राजनीतिले पारेको प्रभाव र असर पनि छ । तर, फिल्म राजनीतिमा मात्रै केन्द्रित नभएको उनले बताउँदै आएकी छन् । राजनीति फिल्मको एउटा लेयर मात्रै भएको उनले स्पष्ट पारेकी छन् ।
समाजबाट राजनीति अलग हुन नसक्ने र चाहेर पनि कोही यसबाट भाग्न नसक्ने उनी बताउँछिन् । त्यही नै फिल्ममा समेटिएको चौलागाईंको भनाइ छ । दर्शकसँग ‘ऐंचो पैंचो’ गर्न आफू अब अन्तिम चरणमा रहेको उनले बताइन् । आफ्नो टिमले दर्शकलाई राम्रो खुराक दिने र दर्शकबाट माया पाउने अपेक्षा उनले पोखिन् ।
गीत, टिजर, ट्रेलरबाट दर्शकले दिएको माया जस्तै हलमा पुग्दा फिल्मले उत्तिकै माया पाउनेमा निर्माण टिम आशावादी छ । पछिल्लो समय नेपालमा पारिवारिक र सामाजिक कथाकै फिल्मलाई दर्शकले स्विकार गरेको भन्दै यो फिल्म त्यसैको निरन्तरता भएको निर्देशकको भनाइ छ । चौलागाईंले आफ्नो फिल्मको लगानी नेपाली बक्सअफिसबाटै सुरक्षित हुने दाबी गरिन् ।
ट्रेलर हेर्नुहोस्ः