काठमाडौंमा खुल्ला फुटसल प्रतियोगिता हुँदै, विजेतालाई डेढलाख बढि पुरस्कार !
हिमालयन फुटबल क्लबको आयोजनामा काठमाडौंमा महँगो धनराशीको खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ । यहि साउन १८ र १९ गते चल्ने प्रतियोगितामा देशभरका जुनकुनै समूहले पनि सहभागिता जनाउन सक्नेछन् ।
साउन १५ गतेसम्मलाई आवेदन मिति तोकिएको प्रतियोगितामा हाल सहभागी समूहको दर्ता प्रक्रिया चलिरहेको क्लबले जनाएको छ । यो प्रतियोगितामा सहभागी हुन प्रत्येक समूहले ७ हजार ७ सय ७७ रुपैयाँ शुल्क तिर्नुपर्ने आयोजकले बताएको छ ।
भाटभटेनी हेल्थ क्लब भेन्यू पार्टनर रहेको प्रतियोगिताका सबै खेल चाबहिल चुच्चेपाटी स्थित भाटभटेनी हेल्थ क्लबमा सञ्चालन हुनेछन् ।
उक्त प्रतियोगिताको विजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो हुनेले ५५ हजार पाँच सय ५५ रुपैयाँ पाउनेछन् । फेयरप्ले टिमलाई ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार निर्धारण हुँदा उत्कृष्ट प्लेयर र गोल किपरलाई जनही पाँच हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार तोकिएको छ ।
नेपालमा फुटसलको क्रेज बढिरहँदा विभिन्न ठाउँमा छरिएका खेलप्रेमी युवाहरूमाझ भाइचाराको सम्बन्ध स्थापित गर्न यो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने हिमालयन फुटबल क्लबका अध्यक्ष विनोद कार्कीले बताए । मध्य पूर्वको देश मलेशियालाई लक्षित गरेर स्थापित भएको यो क्लब नेपालमा हालै दर्ता भएको हो । क्लबले पहिलो चरणमा नै यो प्रकारको ठूलो प्रतियोगिता गरेर आफूलाई काठमाडौंमा स्थापित स्पोर्ट्स क्लबको रूपमा उभ्याउने लक्ष्य राखेको छ ।