‘बगान’ ट्रेलर रिलिजः एकल आमालाई निःशुल्क फिल्म देखाउने घोषणा
काठमाडौँ।
यही असार २९ गते नेपालभर रिलिज हुने नेपाली चलचित्र ‘बगान’को ट्रेलर सार्वजनिक भएको छ । बुधवार काठमाडौँको वन सिनेमाजमा आयोजित कार्यक्रममा ६ जना विशिष्ट एकल आमाहरुलाई सम्मान प्रदान गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिक गर्दै एकल आमाले देशैभर निशुल्क ‘बगान’ हेर्न पाउने घोषणा गरिएको छ । यसको लागि चलचित्र हलमा सरकारले जारी गरेको एकल आमाको परिचयपत्र देखाउनुपर्नेछ ।
कार्यक्रममा बोल्दै निर्देशक तथा अभिनेता खनालले नेपालमा अहिले करिब १५ लाख जना एकल आमा रहेकोमा सबैले यो चलचित्र हेर्न पाउन भन्ने उद्देश्यले निशुल्क चलचित्र हेर्ने व्यवस्था गरेको बताए । उनले भने, “आज हामीले ६ जना एकल आमाहरुलाई प्रतिनिधि पात्रको रूपमा सम्मान प्रदान गर्दैछौँ । हामीले ६ जनालाई मात्र सम्मान गर्दा नेपालका सबै एकल आमाहरुलाई बिर्सन नसकेर निशुल्क चलचित्र देखाउने निर्णय गरेका हौँ ।” चलचित्र निर्देशन यात्राबारे कुरा गर्दै खनालले आफुले निर्देशनको दुस्साहस गरेको र यो निकै ठुलो काम भएको महशुस गरेको बताए । “ठुलो काम गर्ने तताम् निर्देशकहरुप्रति मेरो उच्च सम्मान छ । यो मेरो पहिलो काम हो तर अन्तिम भने होइन”, खनालले बताए ।
चलचित्रको तीन मिनेट लामो ट्रेलरमा एकल महिलाले पुनर्विवाह गर्ने बिषयको मतभेदलाई प्रस्तुत गरिएको छ । अभिनेत्री करिश्मा मानन्धरले एकल महिलाको भूमिका निभाएकी छन् भने नव अभिनेत्री प्रमिला कार्की मानन्धरकी छोरीको भूमिकामा छन् । यसै चलचित्रबाट रजतपटमा प्रवेश गरेकी कार्कीले अभिनयमा गजबको सम्भावना देखाएकी छन् । ट्रेलरमा करिश्मासँग प्रेम गर्ने पात्रको रूपमा अभिनेता तथा यस चलचित्रका निर्देशक सरोज खनाललाई देखाईएको छ । अभिनेत्री कार्कीको प्रेमीको रूपमा अभिनेता आकाश श्रेष्ठलाई राखिएको छ । अभिनेता नीर शाहलाई पुरातनवादी सोच राख्ने पात्रको रूपमा राखिएको छ भने अभिनेत्रीद्वय बशुन्धरा भुषाल र मिथिला शर्मालाई पनि ट्रेलरमा समेटिएको छ ।
यस चलचित्रमा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्कीसँगै नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो चलचित्रबाट अभिनेता खनालले निर्देशनमा र अभिनेत्री कार्कीले अभिनयमा डेब्यु गरेका हुन् । नेपाली वेभसाइट डटकमको प्रस्तुती रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् ।
यस चलचित्रमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ । हरि लम्साल र सुवास भुषालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ ।
यो चलचित्र नेपाल र अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरुमा फिल्म प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ । ‘बगान’को वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ ।