Logo

पुनः हिन्दी फिल्मको बलमिच्याइँ,अन्ततः बिहिबार नै रिलिज भयो ‘परस्त्री’

नेपालमा शुक्रबार मात्रै फिल्म रिलिज हुँदै आएका छन् । फिल्म निर्माताहरूको संस्था चलचित्र निर्माता संघ र वितरण संस्था चलचित्र संघको सहमतिमा अघिल्लो हप्ता रिलिज हुने फिल्मलाई कम्तिमा एक हप्ता शोज उपलब्ध गराउने उद्देश्यसहित फिल्म रिलिजको लागि शुक्रबार रोजिन्छ । शनिबारको बिदाले निर्मातालाई फाइदा हुने आँकलन गरिन्छ ।

त्यसो त विकेण्ड कलेक्सनलाई अर्थपूर्ण मान्ने वलिउड बजारले पनि प्रायः शुक्रबार नै फिल्म रिलिज गर्छ । तर त्यसअघि पछि पर्ने विदाको मौकालाई निर्माताले छोड्न चाहन्नन । नेपालमा पनि अक्कल झुक्कल यहि कुरा लागु हुँदै आएको छ । तर उल्लेखित दुई संस्था मिलेर विदेशी फिल्म भने शुक्रबार मात्रै रिलिज गर्ने भनेर पटक पटक नियम नै बनाए । तर सोहि संस्थामा विदेशी फिल्मको ठेकदारी गर्नेहरूकै बाहुल्यता रहँदा उनिहरू नै यो नियम मिच्दै आएका छन् ।

केहि वर्ष पहिले रिलिज हिन्दी फिल्म ‘भारत’लाई बुधबार नै रिलिज गर्न अदालतबाट नै स्टे अर्डर आएपछि त्यसैलाई आधार मानेर अन्य दिन पनि फिल्म रिलिज गरिँदै आइएको छ । यो बीचमा पुनः आफ्नै सहमति लत्याएर चलचित्र संघमा आवद्ध वितरकले हिन्दी फिल्म ‘सत्यप्रेम की कथा’ (आज) बिहिबार नै रिलिज गरे । यसको प्रभाव नेपाली फिल्म रिलिजमा पनि परेको छ । शुक्रबारलाई प्रदर्शन तोकेको फिल्म ‘परस्त्री’ बिहिबार नै रिलिजमा आएको छ ।

नेपाल र भारतमा एकसाथ नेपाली र हिन्दी भाषामा प्रदर्शनमा आउने भनिएको फिल्म नेपालमा विदा पर्दा बिहिबार रिलिज हुँदा भारतमा भने शुक्रबार मात्रै रिलिज हुनेछ । रिलिजको पुर्वसन्ध्यामा बुधबार निर्माण टिमले प्रिमियर आयोजना गर्यो । फिल्मले मिश्रित प्रतिक्रिया पाएको छ ।

सुरज पाण्डेको निर्देशनमा बनेको फिल्मको कथा दीपेन्द्र के खनालले लेखेका हुन् । विवाहेत्तर सम्बन्धले निम्त्याउने समस्यामा आधारित शर्मिला पाण्डे निर्मात्री रहेको फिल्ममा कोशिश क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी, अर्पित न्यौपाने लगायतको अभिनय छ । फिल्मले मल्टिप्लेक्सहरूमा सुखद उपस्थिति जनाएको छ ।

Comments