भारतमा प्रचार बढाउँदै ‘परस्त्री’, नेपालमा हिन्दी रिलिज नहुने
यहि शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘परस्त्री’को नेपालसँगै यतिबेला भारतमा समेत निर्माण टिम प्रचारमा व्यस्त छ । नेपाली र हिन्दी दुबै भाषामा रिलिज हुने फिल्मको भारत रिलिजलाई लिएर निर्माण टिम उत्साहित छ ।
यसैबीच फिल्मको निर्माण टिमले सोमबार दिल्लीमा पत्रकार सम्मेलनको आयोजना गर्यो । जहाँ फिल्मको कथावस्तु बारेमा चर्चा गरिएको थियो । दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा फिल्म हेर्न नेपालमा मात्रै नभई भारतमा पनि दर्शक उत्साहित रहेको प्रतिक्रिया मिलेको निर्देशक सुरज पाण्डेले बताए । निर्देशक पाण्डेले पत्रकारसँग ‘परस्त्री’को कथा युनिभर्सल भएको दाबी गरे ।
यस्तो कथामा अहिलेसम्म नेपालमा फिल्म नै निर्माण नभएको भन्दै फिल्मको प्रिजेन्टेससन भने नेपाली दर्शकको स्वाद अनुसार निर्माण गरेकाले केही फरक लाग्न सक्ने निर्देशक पाण्डेले बताए । दिल्लीमा पत्रकारसँग कुरा गर्दै अभिनेत्री शिल्पा मास्केले ‘परस्त्री’ले आफ्नो करियर नै परिवर्तन गर्ने अपेक्षा व्यक्त गरिन् । उनले अवसर पाएको खण्डमा आफु बलिउड फिल्ममा समेत काम गर्न तयार रहेको बताइन् ।
यसैबीच मंगलबार निर्मात्री पाण्डेले समाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै ‘परस्त्री’ नेपालमा नेपाली भाषामा मात्रै प्रदर्शन गर्ने जानकारी दिइन् । नेपालमा ‘परस्त्री’ हेर्न दर्शक उत्साहित रहेको भन्दै हिन्दीमा पनि रिलिज हुने खबरले दर्शक कन्फ्युज रहेको पाएकाले आफुहरुले नेपालमा ‘परस्त्री’ नेपाली भाषामा मात्रै प्रदर्शन गर्ने निर्णय गरेको उल्लेख गरेकी छन् ।
विवाहोत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथावस्तुमा निर्माण भएको फिल्मलाई निरज कँडेल छायांकन गरेका हुन् ।
फिल्ममा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय रहेको छ । फिल्मको कथा दीपेन्द्र के खनालले लेखेका हुन् ।