‘परस्त्री’ प्रचारलाई कलाकारसहित भारत लाग्यो निर्माण टिम
दीपेन्द्र के खनालको लेखन तथा सुरज पाण्डेको निर्देशनमा बनेको फिल्म ‘परस्त्री’ यहि असार १५ बाट प्रदर्शनमा आउँदैछ । नेपाली र हिन्दी भाषामा नेपाल र भारतका विभिन्न शहरमा प्रदर्शन पक्का गरेको यो फिल्मको निर्माण टिम यतिबेला प्रचार प्रसारमा व्यस्त छ ।
यसैबीच हिन्दी भाषाको रिलिज प्रचारको लागि फिल्म युनिट बिहिबार भारत प्रस्थान गरेको छ । निर्मात्री शर्मिला पाण्डे, निर्देशक सुरज पाण्डे, अभिनेत्री शिल्पा मास्केसहितको टिम भारततर्फ लागेको हो ।
निर्मात्री पाण्डेले सामाजिक सञ्जालमा तश्विरसहितको स्टाटस पोस्ट गर्दै प्रचार प्रसार र प्रिमियरको लागि मुम्बई प्रस्थान गरेको उल्लेख गरेकी छिन् । यो फिल्ममा शिल्पासँगै कोशिश क्षेत्री, गौरव विष्ट, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, अर्पित न्यौपाने लगायतको अभिनय छ ।
ट्रेलरले प्रचारलाई मजबुद बनाएको फिल्मले यौन मनोविज्ञानको कथा बोल्छ । निरज पाण्डेले फिल्म खिचेका हुन् ।