‘गुन्यु चोलो’ बन्यो समुन्द्रको ‘गुलाबी’, हलिउड कम्पनिले वर्ल्ड वाइड रिलिज गर्ने
वैकुण्ठराज पराजुली । समुन्द्र भट्टको निर्देशनमा बनेको फिल्म ‘गुलाबी’को नाम परिवर्तन भएको छ । यो फिल्म अब ‘गुन्यु चोलो’ नाममा प्रदर्शन हुने निर्देशक भट्टले बताइन् । पारलैङ्गिक कथामा बनेको यो फिल्मलाई उल्लेखित समुदाय (लिङ्ग)भित्र पर्नेहरूको जीवनमा ‘गुन्यु चोलो’को महत्वलाई दृष्टिगत गर्दै परिवर्तित नाममा रिलिज गरिने भट्टको भनाइ छ ।
यसैबीच यो फिल्मको विश्वव्यापी प्रदर्शन अधिकार हलिउड फिल्मको निर्माण तथा वितरण गर्दै आएको अमेरिकन कम्पनी ‘भिजिअन इन्टरटेनमेन्ट’ले खरिद गरेको छ । हालै निर्माण व्यानर ‘द स्काइ ओसन इन्टरटेनमेन्ट’ र उक्त कम्पनिबीच सम्झौता आदान प्रदान भएको छ । योसँगै फिल्मको पोष्ट प्रोडक्सनको काम पनि अमेरिकामा नै धमाधम भइरहेको निर्देशक भट्टले बताइन् ।
‘फरक विषयवस्तुलाई उठान गरिएको यो फिल्म वर्ल्ड वाइड रिलिज हुँदा नेपाली फिल्मलाई अन्तराष्ट्रियस्तरमा बजारीकरण र प्रवर्धन गर्ने आफुहरूको प्रयास सुखद हुने अपेक्षा भट्टले सामाजिक सञ्जालमा लेखेकी छिन् । फिल्म रिलिज हुन केहि ढिलो हुने भएपनि नेपाली फिल्मले विश्व बजारमा नयाँ इतिहास रच्ने आशा उनले व्यक्त गरेकी छिन् ।
नाजिर हुसैन स्टारर फिल्म फर्स्टलुक पोस्टर रिलिजबाट नै चर्चामा छ । नाजिरले फिल्ममा निभाएको पात्रको भुमिकाले सुरुवाति चरणबाटै तारिफ भेटेको छ । यो फिल्ममा नाजिरसँगै सुशिल सिटौला, सञ्चिता लुइँटेल, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’, शिशिर राणाले मुख्य भुमिकामा अभिनय गरेका छन् । फिल्मको कथा निर्देशक भट्टकै हो भने पटकथा तथा संवाद लेखनमा भट्टसँग रामकुमार श्रेष्ठ र नाजिर हुसैनले सहकार्य गरेका छन् ।
फिल्मलाई आलोक शुक्लाले छायांकन गरेका छन् । भद्र भुजेल एसोसिएट निर्देशक रहेको फिल्ममा सम्राट बस्नेत द्वन्द्व निर्देशक छन् भने लेखु सहयात्री र शान भुषालको संगीत समावेश छ ।