जापानमा नेपाली फिल्मको बजार बढाउँदै ‘यूएनए इन्टरटेन्मेन्ट’
डायस्पोरामा नेपाली फिल्मको उपस्थिति र व्यापार विस्तार भइरहँदा पछिलो समय नेपाली फिल्मले राम्रो बजार पाउँदै गएको देश मध्ये जापान पनि एक हो । त्यसो त जापानमा नेपाली फिल्म र संगीतसँग जोडिएर थुप्रै नेपाली कार्यक्रमहरू पनि भइरहन्छन् । ती कार्यक्रममा पनि फिल्म हेर्न हलमा पुग्दा झैं जापानमा रहेका धेरै नेपालीहरू सहभागी हुन्छन् ।
पछिल्लो पटक यो प्रकारका कार्यक्रमलाई स्थान दिने र नेपाली फिल्मको जापान बजार बढाउँदै लैजाने कम्पनि मध्येको एक हो ‘यूएनए इन्टरटेन्मेन्ट’ । यो कम्पनिले जापानमा थुप्रै नेपाली फिल्मको प्रदर्शन र प्रवर्धन गर्दै आएरहेको छ । यतिबेला वर्ष २०८० का संभावनावान तीन ठुला ब्यानरका फिल्मको जापान प्रदर्शन अधिकार लिएर प्रचारप्रसार समेत थालनी गरिसकेको छ ।
‘यूएनए’ले तीन फिल्म (पशुपति प्रसाद २) ‘भस्मे डन’, र ‘दिमाग खराब’ र ‘नाङ्गो गाउँ’ को प्रदर्शन अधिकार आफ्नो पोल्टामा पारेको छ ।’नाङ्गो गाउँ’लाई नेपालबाट भिजोनिया कम्पनिका सुवास लामिछानेले खरिद गर्दा जापानको नागोया प्रदर्शन अधिकार भने ‘यूएनए’ले लिएको हो । कम्पनिका निर्देशक उज्ज्वल गुरागाइँले तीनवटै फिल्मलाई जापानमा रहेका नेपालीमाझ प्रदर्शनको लागि महंगो रकममा खरिद गरेको बताए । जापानमा रेष्टुरेन्ट र पार्टी हलमा नेपाली फिल्म प्रदर्शन हुँदै आएकोमा यो कम्पनि एक कदम अघि बढ्दै अब फिल्म हलमा नै नेपाली फिल्मको प्रदर्शन गराउँदै छ ।
गुरागाइँले दिएको जानकारी अनुसार नेपाली पर्वहरूको अबसर पारेर आउँदो तीजमा ‘नाङ्गो गाउँ’, दशैंमा ‘पशुपति प्रसाद २’ र तिहारमा ‘दिमाग खराब’ प्रदर्शन हुनेछन् । जापानका विभिन्न शहरमा फिल्मको प्रदर्शनको लागि सहकार्य गर्न जापानबासी नेपालीमाझ कम्पनिले सार्वजनिक आह्वान समेत गरेको छ । उल्लेखित फिल्मको टिकट पनि आफ्नै वेभसाइट (unaentertainment.jp) बाटै खरिद गर्न सकिवे व्यवस्था समेत कम्पनिले मिलाएको छ ।