फिल्मी फ्राइडे: पर्दामा ‘प्रसाद २’ भर्सेज ‘नाइ नभन्नु ल ६’
फ्राइडे फिल्म अन्तर्गत एकसाथ तीन फिल्म प्रदर्शनमा आएका छन्। सफल फिल्म ‘प्रसाद’ को सिक्वेल, ‘नाई नभन्नु ल’ को छैठौँ सिरिज र कैदीको पत्र एकसाथ प्रदर्शनमा आएको हो। यी तीन फिल्म मध्ये कैदीको पत्रले स्टारकास्ट, कम्जोर ट्रेलर र पब्लिसिटी कम्जोर हुँदा शो न्यून पाएको छ। प्रसाद २ र नाई नभन्नु ल ६ भने दर्शकले आश गरेका दुई फिल्म हुन्।
प्रसाद २:
प्रदर्शनमा आएको ‘प्रसाद २’ ले गत सोमबार साँझ काठमाडौंमा गरिएको प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको थियो। ‘प्रसाद’ को व्यापार र फिल्ममा भएका कलाकार, प्रिमियरमा प्राप्त प्रतिक्रियाको आधारमा ‘प्रसाद २’ ले राम्रो सो पाएको छ। फिल्ममा अभिनेता विपीन कार्कीले बाबुराम र अभिनेत्री केकी अधिकारीले नारायणीको भूमिका निर्वाह गरेका छन् । सहरमा घटेका घटनाक्रमलाई साथ रहेर सामना गरेका बाबुराम दम्पती गाउँ फर्किने तयारी गर्छन् । देशमा आएको परिवर्तन गाउँसम्म पुगेको आशमा सुखी जीवन बिताउने सपना बोकेर उनीहरू आफ्नै थलोमा फर्किन्छन् । उनीहरू बस्ने गाउँलाई सुन्दरबस्ती भनिएता पनि त्यहाँ विभेद कायम नै छ ।मूलकथा प्रेम बनाइए पनि परिवर्तनलाई संस्थागत गर्न राजनीतिको सहायता लिइएको छ ।
देशमा संविधान नै नयाँ लेखिएर हुने भनिएको परिवर्तन व्यवहारमा छैन। पात्रले कानूनमा लेखिएको परिवर्तन महसुश गरेका छैनन्। त्यसैले त बाबुरामलाई लाग्छ,’परिवर्तन लेखियो तर कतै देखिएन्’। अभिनेता विपिनले परिवर्तनलाई फिल्मको माध्यमले बुझाउने प्रयत्न गरिएको बताए। ‘प्रसादको इस्यू साँझा हो । यसले समाजको तीतो यथार्थलाई समेटेको’,अभिनेता कार्कीले भने।
विविध अप्ठ्यारोलाई छल्दै फिल्म प्रदर्शन हुन् लागेको हो। फिल्मको सङ्घर्ष बाबुराम र नारायणी भन्दा फरक नदेखिएको वितरक गोपालकाजी कायस्थले बताए। ‘धन्दा’पछि यो अर्को सामाजिक कथावस्तुमा कथालाई निर्देशन गरेका निर्देशक सुदर्शन थापाले निर्देशनमा कुनै कसर बाँकी नरहेको बताए। रोमान्टिक फिल्म निर्देशकको रुपमा कहलिएका थापाले ,’नारायणी, बाबुराम र प्रसादले जीवन अघि बढाउन गर्ने संघर्ष नै यसको कथा हो। उनीहरू संघर्षको सुरूवात गाउँबाट नै गरिरहेका छन्। देशमा नयाँ संविधान आयो । नियम कानुन बने तर व्यवहारमा पात्रले परिवर्तन महसुश गरेका छैनन् । परिवारिक, सामाजिक र राजनीतिक लेयरमा आधारित संघर्ष यसमा छ।’
अघिल्लो भागको विपिन कार्की बाहेक केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी नयाँ अनुहार हुन्।फिल्ममा सुदर्शन बस्नेत निर्माता रहेकाछन् भने सुभाष थापा प्रस्तुतकर्ता हुन्। सुशील पौडेलको लेखन रहेको फिल्मलाई गोपालकाजी कायस्थले वितरण गर्दैछन्।
नाई नभन्नु ल ६:
विकासराज आचार्यद्वारा निर्देशित फिल्म ‘नाईं नभन्नू ल ६’को प्रदर्शनमा आएको छ। ‘नाई नभन्नु ल’ नेपालमा दर्शकले रुचाएको सिरिज मध्येको एक हो। यद्यपि यसपटक निर्माण पक्षले प्रचारप्रसारमा ध्यान दिएको छैन। डेब्यु अभिनेता आशिर्वाद क्षेत्री र अभिनेत्री आँचल शर्माको प्रेम कथामा केन्द्रीत फिल्ममा प्रियंका कार्की, केकी अधिकारी, सरोज खनाल लगायतका कलाकारको अभिनय रहेको छ। फिल्मलाई निर्देशक आचार्यले सामीप्यराज तिमल्सेनासँगको सहकार्यमा लेखेका हुन्। अनुभव रेग्मी यसमा विशेष भूमिकामा छन्।
आख्यान फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा विकासराज आचार्य र विष्णुमणि दाहाल छन् भने सञ्जय न्यौपाने, रमेश चौधरी, पुरुषोत्तम प्रधान कार्यकारी निर्मातामा छन् । फिल्ममा हिमाल केसीको द्वन्द्व निर्देशन, पुरुषोत्तम प्रधानको छायांकन, सन्देश शाहको सम्पादन, एलिस कार्कीको ब्याकग्राउन्ड स्कोर, कविराज गहतराज र मनोज विश्वकर्माको कोरियोग्राफी रहेको छ ।
कैदीको पत्र:
सनमकुमार बैरागले साहित्यकार स्व. इश्वर मानन्धरको चर्चित कथा ‘कैदीको पत्र’ मा फिल्म निर्माण तथा निर्देशन गरेका छन्। अध्ययनको क्रममा नेपालबाट बेलायत पुगेको एक युवकको स्कटीस युवतीसँगको प्रेम र त्यसबाट सृजना भएको बिषम परिस्थितिको बिषयमा रहेको फिल्म निर्माण भएको बताईएको छ। फिल्ममा म्याडिसन लाजारस,कुनाल बिश्व,सलिना थापा मगर,पृथ्वी क्षेत्री,किरण कार्की, क्यारी डुड्स,चरण प्रधान,मनिष श्रेष्ठ, सुस्मिता थापा, सुवर्ण थापाले अभिनय गरेका छन् । रामेश्वर कार्कीको छायांकन,कबिराज गहतराजको कोरियोग्राफी,सम्राट बस्नेतको द्धन्द्ध निर्देशन,सुरेश सेन्चुरी र बिनम्र कर्माचार्यको संगीत रहेको फिल्मको मुख्य सहायक निर्देशक रामशरण कोइराला र सहायक निर्देशक सुस्मिता थापा हुन ।