हलबाट फिल्म उतार्ने ‘बुलाकी’ निर्माताको घोषणा
दर्शकको चौतर्फी मायाको बाबजुत हल सञ्चालकहरूबाट घेराबन्दी पाएको भन्दै फिल्म ‘बुलाकी’ निर्माण यूनिटले हलबाट फिल्म फिर्ता लिएको घोषणा गरेको छ । कलाकार तथा निर्माता विराज विष्टले सामाजिक सञ्जालमा स्टाटस पोस्ट गर्दै फिल्म फिर्ता लिएको घोषणा गरेका हुन् ।
सामाजिक सञ्जालमा लेखेको पोस्टमा विष्टले फिल्मले पर्याप्त शोज नपाएको देखि शोज कटौतीसम्मलाई उल्लेख गरेका छन् । विष्टको आक्रोशपूर्ण स्टाटसमा नयाँ निर्मातालाई नेपाली फिल्म उधोगले गर्ने व्यवहारको प्रतिबिम्ब झल्किएको छ ।
बैशाख १ मा रिलिज फिल्मलाई हेरिसकेका दर्शकबाट प्राप्त सुखद प्रतिक्रियालाई धन्यबाद दिँदै विष्टले हेर्न नपाएका फिल्म सुभचिन्तकहरूमा माफी सम्म मागेका छन् । उनले स्टाटसमा दर्शकको माग र परिस्थिति बन्दा फिल्म चोक चौतारामा समेत देखाउन सक्ने सम्म उल्लेख गरेका छन् । साथमा विष्टले वितरण कम्पनिप्रति व्यङग्य गर्दै उपत्यका वितरण कम्पनि त्रिनेत्रम डिस्टिव्यूसन र मोफसल बाहिरको वितरण कम्पनि एफडी कम्पनिलाई धन्यवाद समेत दिएका छन् ।
यसैबीच फिल्मका प्रमुख कलाकार नरेन खड्काले निःशब्द भन्दै निर्माताको पोस्ट सेयर गर्दा प्रमुख अभिनेत्री सुरक्षा पन्तले फिल्म अहिलेलाई बिट मार्ने निर्माण पक्षको निर्णय भएको भन्दै आवश्यक परे अरु कुनै माध्यमबाट हेर्ने माहोल मिलाउने उल्लेख गरेकी छिन् । नरेन र सुरक्षाको पोस्टमा हालसम्म फिल्म हेरेर साथ दिने सबैलाई धन्यबाद समेत उल्लेख छ ।
हेर्नुहोस् पूर्ण स्टाटसः
‘बुलाकी’ चलचित्र हेरिसक्नु भएका सम्पूर्ण दर्शकहरूमा मनैदेखि आभार प्रकट गर्दछौं । हाम्रो चलचित्र हेर्न बाँकी सम्पूर्ण दर्शकहरूलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै भोलि आइतबारबाट प्रदर्शनरत सबै हलबाट चलचित्र फिर्ता लिएको घोषणा गर्दछौं । सम्पूर्ण दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाएको फिल्मलाई चौतर्फी घेराबन्दी गरि जसरी निर्माता डुबाउने खेल खेलियो यो हामी बिल्कुल मान्न तयार छैनौं । चलचित्र निकाल्नुका कारणहरू:
१. दर्शकको राम्रो प्रतिक्रिया हुँदाहुँदै चलचित्रलाई हल व्यावसायिले गरेको अपहेलना ।
२. प्राप्त सबै शोज अफटाइममा ।
३. मोफसलका मुख्य स्टेशनमा १ शो पनि उपलब्ध नगराएको ।
४. चलचित्रलाई अपहेलना गरेर दिइएका प्रायः सबै शोजहरु एकाबिहानै मात्र उपलब्ध गराएको ।
५. चलचित्र प्रदर्शन भएको दोस्रो दिन बाटै ७०% शो कटौती गरेको ।
६. फर्स्टलूक पोस्टर सार्वजनिकदेखि टिजर, ट्रेलर र गीत सार्वजनिक भइसक्दा प्राप्त हाइपलाई बेवास्ता गर्दै फिल्म र फिल्मको कन्टेन्ट नहेरी भूर्ण हत्याको शैलीमा अग्रिम बुकिङमै फिल्मलाई न्यून शोज उपलब्ध गराएको ।
अब हाम्रो चलचित्र दर्शकको माग अनुसार परिस्थिति हेरेर प्रोजेक्टरबाट चोकचौतारा समेत देखाउने छौं । यसैपनि काठमाडौंले अबहेलना गरेको कर्णाली र सूदूरपश्चिमको कथा उठाएर करोडौं रिस्क लिँदै चलचित्र बनाउँदा फिल्म क्षेत्रले समेत सोही व्यबहार दोहोर्याएको छ । यो बीचमा नयाँ मेकरको रूपमा पाइला राख्दा पहिलो पाइला मै साथ, सहयोगसहित हौसला प्रदान गर्नुहुने यहाँ सम्पूर्णमा कृतज्ञ छौं । फिल्ममार्फत देश, समाज र माटो बोल्ने अझै धेरै कथा लिएर दर्शकमाझ आउनेछु । म थाकेको मात्र हुँ हारेको छैन । अन्त्यमा धन्यवाद उपत्यका वितरण कम्पनी त्रीनेत्रम डिस्टृब्यूसन (सुनिलकुमार थापा) अनि धन्यवाद मोफसल वितरण कम्पनि एफडी कम्पनि (छवि ओझा) ।