‘बुलाकी’ गीत रिलिजः नरेन र सुरक्षाको साथमा कृष्णसँग अनुको ठूम्का
नयाँ वर्ष २०८० को अबसरमा आगामी बैशाख १ गतेबाट प्रदर्सनको तयारीमा रहेको फिल्म ‘बुलाकी’मा समावेश गीत सार्वजनिक भएको छ । निर्माण टिमले सोमबार युट्युव मार्फत ‘नाच सुवा नाच’ बोलको डान्सिङ गीत वर्ल्ड प्रिमियर गर्यो ।
सार्वजनिक गीतमा स्वर भ्वाइस अफ नेपाल पहिलो सिजन विजेता सिडी विजय अधिकारी र पछिल्लो पुस्ताकी चर्चित गायिका रचना रिमालको छ । गोविन्द मधुर आचार्यको शब्द तथा संगीतमा तयार भएको गीतले कुनै मेलाको अबसरमा कलाकारहरूले प्रस्तुति दिएको छनक दिन्छ । फिल्म निर्देशक लक्ष्मण सुनारले फिल्म भित्र गीतको सिक्वेन्स खुलाउन चाहेनन् ।
सार्वजनिक गीतमा कविराज गहतराजले नृत्य निर्देशन गरेका छन् । मोडल तथा अभिनेत्री अनु पराजुली र गायक कृष्ण रौलेले कम्मर मर्काएको गीतको भिडियोमा मुख्य कलाकारद्वय अभिनेता नरेन खड्का र अभिनेत्री सुरक्षा पन्तले पनि स्थान लिएका छन् ।
छत्रेस्वरी म्यानेजमेन्ट प्रा.ली.को ब्यानरमा तयार भएको यो फिल्म पहिलो पोस्टर सार्वजनिक हुँदाको समयदेखि चर्चामा छ । फिल्मको यसअघि सार्वजनिक टिजरलाई पनि दर्शकले मन पराइसकेका छन् । युट्युवमा हालसम्म १० लाख बढि पटक यो फिल्मको टिजर हेरिएको छ । फिल्मको मुख्य द्वन्द्व पश्चिम नेपालको कर्णालीमा हालसम्म पनि विद्धमान जारी प्रथा हो ।
फिल्म ‘बुलाकी’मा सुरक्षा र नरेनसँगै विराज बिष्ट मुख्य अभिनयमा छन् । स्व. मोति बिष्टको प्रस्तुति र टोपेन्द्र बिष्ट निर्माता रहेको फिल्ममा प्रकाश कँडेल, रमेश बुढाथोकी, सरस्वती खत्री, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, उपासना वाइबा,सोनु सेढाइ, धनबहादुर राई, वसन्त परियार, लक्ष्मण देवकोटा लगायतलाई पनि अभिनयमा देख्न सकिनेछ ।
शिव ढकालले खिचेको फिल्ममा गोविन्द मधुर आचार्य, श्रीकृष्ण बम मल्ल र बादल थापाको संगीत समावेश छ । फिल्मको सम्पुर्णजसो छायांकन पश्चिम नेपालको जाजरकोट, रुकुम र डोल्पामा गरिएको छ । निर्माण टिमले केहि दिनमै फिल्मको ट्रेलर सार्वजनिक गरेर आक्रामक प्रचारको थालनी गर्ने तयारीमा रहेको बताएको छ ।
अर्जुन जिसीले सम्पादन रहेको फिल्मको कथा राजबहादुर सानेको हो । निर्मल पौडेल र निर्देशक सुनारसँगै अभिनेता विराज विष्टले फिल्मको पटकथा तथा संवाद तयार पारेका हुन् ।