Logo

रेम बिकलाई जीतप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार

पोखरा ।‘जीतप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार’ बाट पत्रकार रेम विक पुरस्कृत हुने भएका छन् । चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाको यहि माघ २८ गते हुन गइरहेको पाचौं चुनाबी साधारणसभामा रेमलाई पुरस्कृत गर्न लागिएको हो ।

गण्डकी प्रदेशमा कार्यरत चलचित्र पत्रकार मध्येबाट वर्षेनी एकजनालाई प्रदान गर्ने गरि स्थापना गरिएको उक्त पुरस्कार बापत रेमले २५ हजार नगद प्राप्त गर्नेछन् । लामो समय चलचित्र पत्रकारितामा बिताएका रेम चलचित्र पत्रकार संघ कास्कीको पूर्व अध्यक्ष हुन् ।

‘हामीले यो पुरस्कारलाई ऐतिहासिक मानेका छौँ । पहिलोपटक हामीले हाम्रै संस्थाका संस्थापक अध्यक्षलाई पुरस्कृत गरेका थियौं । दोस्रो र तेस्रो पुरस्कार संघका पूर्व अध्यक्ष र सल्लाहकारलाई सम्मान गर्न पाउँदा खुशी लागेको छ ।’ चलचित्र पत्रकार संघ नेपाल, कास्कीका कार्यबाहक अध्यक्ष सन्तोष सुवेदीले भने–‘र, यो पुरस्कार स्थापना गर्न हामीलाई सहयोग गर्ने पोखराको पुरानो फिल्म व्यवसायी घराना जीतप्रसाद द्वाको परिवारलाई पनि विशेष धन्यबाद दिन चाहन्छौँ ।’ सुवेदीले यो पुरस्कार पुराना चलचित्रकर्मी जितप्रसाद द्वाले नेपाली चलचित्र क्षेत्रमा पुर्याएको योगदानलाई चिरकालसम्म सम्झिरहन र यही क्षेत्रमा कलम चलाईरहेका पत्रकारहरुलाई थप हौसला प्रदान गर्न स्थापना भएको बताए ।

संघले प्रदान गर्न लागेको चलचित्र पत्रकारिता पुरस्कारको प्रतिभा छनौटका लागि नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीको संयोजकत्वमा संघकै संस्थापक अध्यक्ष श्रीराम सिग्देल र गुरुङ फिल्म एशोसियसन नेपाल जिफानका अध्यक्ष गुञ्ज गुरुङ सदस्य रहेको समिति गठन गरिएको थियो । सोही समितिले सिफारिश गरेअनुसार रेमलाई २०७८ सालको पुरस्कार प्रदान गर्न लागिएको हो । २०७९ सालको पुरस्कार भने अर्का पत्रकार राजाराम पौडेलले पाउने भएका छन् ।

२०६५ सालबाट बिग एफएमबाट पत्रकारिता शुरु गरेका रेम र २०६० सालबाट हिमचुली एफएमबाट पत्रकारिता शुरु गरेका राजाराम हालसम्म पनि चलचित्र पत्रकारितामा क्रियाशिल छन् । रेम बिक हाल मेनसमाचार डटकम र राजाराम पौडेल रेडियो अन्नपूर्णमा आबद्ध छन् ।

तश्विरः जक्सन डटकम

Comments