फ्लोरमा ‘नम्बरी सुन’, गौरवसँग नम्रताको ठूम्का !
राजु गिरीको निर्देशनमा बन्न लागेको फिल्म ‘नम्बरी सुन’को छायांकन प्रारम्भ भएको छ । फिल्ममा समावेश हुने गीत छायांकन गर्दै निर्माण टिम फ्लोरमा निस्केको हो ।
फिल्मको गीतलाई श्रीकाली चौरमा छायांकन गरिएको छ । जहाँ मुख्य कलाकार गौरव पहारी र नम्रता सापकोटाले नृत्य गरेका छन् । यो फिल्ममा सरोज खनाल र किरण नेपाली पनि मुख्य अभिनेता रहनेछन् ।
७० वर्षअघिको नेपाली समाजको कथा बोल्ने भनिएको फिल्ममा संगीत अर्जुन पोखरेलको रहनेछ । नारायण खातीको कथा तथा प्रस्तुतिमा निर्माण हुने फिल्ममा बुद्धि तामाङ, सविन बाँस्तोला, विनोद न्यौपाने, गीता अधिकारी, स्मृति ओली, अस्मिता बस्नेत, नारायण खाती, लक्ष्मणविक्रम बस्नेत, माया श्रेष्ठ, हीरादेवी श्रेष्ठ, रोजिना कार्की, संगीता शर्मा, आशा भारती र अनिता गिरीलगायत कलाकारको अभिनय छ ।
लमजुङको भुजुङ गाउँ, मनाङ र काठमाडौंमा खिचिने फिल्ममा दिव्य सुवेदीको छायांकन रहने छ । रामजी लामिछाने कोरियोग्राफर छन् ।