बिहिबार नै रिलिज भयो ‘सरी मम’, राजधानीका दर्शकले मात्रै हेर्न पाउने !
चलचित्र प्राविधिकहरूको टिमले निर्माण गरेको जनचेतनामूलक फिल्म ‘सरी मम’ बिहिबारबाट प्रदर्शनमा आएको छ । राजधानीका विभिन्न १४ हलबाट यो फिल्मले प्रदर्शन यात्रा सुरू गरेको हो ।
प्रस्तुतकर्ता तथा लेखक विनोद लामाले पहिलो चरणमा राजधानीबाट प्रदर्शन सुरू गरिएको र यसपछि विभिन्न चरणमा देशका सातै प्रदेश केन्द्रित प्रदर्शन चलाउने बताए । फिल्मले प्रदर्शनको छेकोमा दर्शक आकर्षित पार्न विभिन्न अफरहरू समेत बाहिर ल्याएको छ ।
निर्माण कम्पनि एनएफआई क्रियशनले आमा र छोराको प्रेमलाई बोलेको फिल्मसँग सम्वन्धित हुनेगरि टिकटक बनाउँदा दर्शकलाई ५० हजार पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । आमासँगको तश्विर अथवा भिडियो टिकटकमा सेयर गरेर #sorrymom र #nficreation ह्यासट्यागसहित टिकटक बनाउँदा धेरै लाइक पाउनेलाई २५ हजार र क्रियटिभ टिकटकलाई २५ हजार पुरस्कार दिने घोषणा निर्माण टिमले गरेको छ । यो अफर माघ महिनाभरलाई ल्याइएको लामाले बताए ।
यस्तै फिल्मको २ टिकट किन्दा दर्शकले एक टिकट सित्तैमा पाउने पनि निर्माण टिमले बताएको छ । फिल्म प्रदर्शनमा आउने हलहरूसँगको सहमतिमा यो योजना ल्याइएको निर्देशन नविन बोगटी बताउँछन् । उता बसुन्धरामा रहेको चिरायू अस्पतालले फिल्म हेरिसकेर टिकटको कपी लिएर अस्पताल पुग्ने दर्शकलाई सबै स्वास्थ्य परिक्षणमा ५० प्रतिशतसम्म छुट दिने भएको छ । निर्माण टिम र अस्पतालबीच यस्तो सम्झौता भएको हो ।
किशोरावस्था र युवापुस्ताका दर्शकलाई लक्षित गरेर निर्माण गरिएको फिल्मको प्रदर्शनी तथा च्यारेटीलाई सरकारी स्तरबाट प्रदेश सरकार, नगरपालिका , गाउँपालिका , नेपाल प्रहरीसँगै नेपाल जेसिज, नार्कोनान नेपाल शिक्षा क्षेत्रमा कृयाशिल संस्थाहरू प्याब्सन , एन-प्याब्स , हिसान , शिक्षक महासंघ लगायतले सहकार्य गरिसकेका छन् । उल्लेखित संस्थाहरूको बलमा निर्माण टिमले जतिसक्दो धेरै लक्षित वर्गमा फिल्म देखाउने उद्देश्य लिएको छ ।
नविन बोगटीको निर्देशनमा बनेको फिल्ममा सरोज खनाल र सरिता लामिछाने, एलिस राई, प्रभात पल , प्रेविल कडेल , आरबि कटुवाल , बिहान श्रेष्ठ, युनिसा बजगाइँ , रेजिना मगर , सरोज बखुरेल, लालमणि भण्डारी अभिनयमा छन् । यो फिल्ममा दिर्घ गुरुङको छायांकन र प्रितम पाण्डेको सम्पादन छ । आयुष वुढाथोकी र सरोज पौडेलले लेखेको फिल्मका निर्मातामा सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ पनि छन् ।