Logo

कस्तो चल्यो सारा, प्रितम र कबिरको ‘गुञ्जन’ ?

काठमाडौँ । फिल्म ‘गुञ्जन’शुक्रबारबाट हलमा प्रदर्शनरत छ । माघे संक्रान्तीको अबसरमा प्रदर्शनमा आएको यो फिल्म दर्शक तान्न केन्द्रीत छ । फिल्मले शुक्रबार औसत व्यापार गरेपनि त्यसको तुलनामा शनिबार भने राम्रो दर्शक पाएको वितरक करण श्रेष्ठ ‘क्रेजी’ले बताए ।

शनिबार फिल्मले देशभरका अधिकांश हलमा ६० प्रतिशत बढी दर्शक पाएको श्रेष्ठको दाबी छ । फिल्मले आइतबार परेको पर्वको दिन दर्शकको झन् राम्रो साथ पाएको अनुमान श्रेष्ठको छ । आइतबारको रिपोर्ट निर्माण टिमले सार्वजनिक गरेको छैन ।

प्रेमकथामा बनेको ‘गुञ्जन’ अष्ट महर्जनले निर्देशन गरेका हुन् । दुई दशकदेखि नेपाली फिल्ममा द्धोन्द निर्देशन गर्दै आएका महर्जनको यो निर्देशमा डेब्यु फिल्म हो । ‘रिलिजको दिनसम्म मलाई फिल्मको एकदमै टेन्सन थियो । अहिले खुसी छु’, निर्देशक महर्जनले भने ‘फिल्मको रिभ्यु राम्रो आएको छ । एउटा निर्देशकलाई त्यो भन्दा अर्को खुसी के होला र ?’

सारा सिर्पाली, प्रितमराज सेन्चुरी, कविर खड्का, सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय फिल्ममा छ । प्रितमराजले पनि यसै फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् ।

हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो ।

Comments