Logo

‘डिसेम्बर फल्स’ सोलो रिलिजः आर्यनलाई स्टारडम फर्काउने चुनौती

आर्यन सिग्देल स्टारर फिल्म ‘डिसेम्बर फल्स’ शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आएको छ । सोलो रिलिजको मौका पाएको फिल्मले मल्टिप्लेक्स र सिंगल स्कृन सबैतिर राम्रो उपस्थिति देखाउन सफल भएको छ । तर शोजमा पाएको सफलतालाई दर्शकको साथमा परिणत गर्न उत्तिकै चुनौती छ ।

एकसमय चकलेटी स्टारको रूपमा उदाएर दर्शकको माया पाउँदै स्टारडम जमाएका आर्यनलाई पुरानो क्रेज फर्काउन पछिल्ला रिलिज फिल्ममा हम्मे हम्मे परिसकेको छ । यो फिल्मलाई आर्यनको कमब्याक फिल्मको उद्घोष गर्दै निर्माण टिमले आक्रामक प्रचार पनि गर्यो । आयोजित कार्यक्रमहरूमा आर्यन स्वयंम आफ्नो मेहनत र फिल्मले उठाएको कथावस्तुले दर्शक सन्तुष्ट रहने ठाउँ भएकोले सफल हुने दाबी गर्दै आएका छन् ।

यो फिल्ममा आर्यनको अपोजिटमा उपासना सिंह ठकुरी छिन् । उपासना पछिल्लो पुस्तामा राम्रो फ्यान फलोइङ बनाउन सफल तथा अभिनयमा निखारता ल्याउन सक्ने कलाकार हुन् । आर्यन र उपासनाको जोडीदेखि फिल्मको टिजर, ट्रेलर, सोलो रिलिजको अवसरले सुरुवाती विजनेसमा प्रभाव पार्ने आंकलन निर्माण टिमको छ । जहाँ आर्यनको स्टारडमको पनि राम्रो मापन हुनेछ ।

प्रवीण झाको निर्देशनमा बनेको यो फिल्ममा सलोन बस्नेत, नरेश भट्टराई, सुमन थापा, शिशिर राणा, गीता अधिकारी, नागेन्द्र रिजाल, जैना कुँवर, सुमन थापा, सुमिन गुरुङ, किशन सुनुवारलगायतको पनि अभिनय छ । रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता रामप्रसाद रिजाल हुन् । लक्ष्मण रिजाल र असिम काफ्ले कार्यकारी निर्माता छन् ।

विपिका खनालको कथामा तयार हुँदा महेश आर गुप्ताको छायांकन रहेको फिल्ममा केदार भुषाल र प्रतिक पौडेलको पटकथा तथा संवाद छ भने वनिष शाहको सम्पादनछ । श्री श्रेष्ठले द्वन्द्व निर्देशन गरेका छन् ।

Comments