Logo

‘ह्रस्व दीर्घ’मा रविन्द्र झा अनुबन्धित

नेपाली र भारतीय स्टार कलाकारहरू जोड्दै अघि बढेको फिल्म ‘ह्रस्व दीर्घ’ निर्माण टिमले हालै अर्का कलाकारसँग सम्झौता गरेको छ । आगामी फेब्रुअरी १ तारिखबाट भारतको रामोजी फिल्म स्टुडियोमा छायांकन सुरु हुने फिल्ममा कलाकार रविन्द्र झा अनुबन्धित भएका छन् । यसैसाता १३ बर्षपछि नेपाली फिल्ममा कमब्याक गराउँदै पुरानी अभिनेत्री विपना थापालाई निर्माण टिमले भित्र्याएको थियो ।

झालाई महत्वपूर्ण भुमिकाको लागि अनुबन्ध गरिएको निर्देशक चन्द्र पन्तले बताए । फ्लोरमा जानुपुर्व फिल्मसँग जोडिएका अझै केहि सरप्राइज प्याकेज बाहिर आउने पन्त बताउँछन् । अभिनेत्री नीता ढुङ्गानाको निजी कम्पनि नीता फिल्मस् को ब्यानरमा बन्न लागेको फिल्ममा नेपाली र भारतीय कलाकारहरूको जम्बो टिम फिल्ममा जोडिइसकेको छ । यो फिल्ममा दक्षिण भारतीय फिल्मका चर्चित खलपात्र सुनिल वर्मा (सिनुभाई), गजनी भिलेन प्रदीपराज रावत, विश्व चर्चीत कलाकार ब्रह्मानन्दम र साउथ कलाकार अलीले अभिनय गर्दैछन् । नेपालबाट रविन्द्र झा र विपना थापासँगै नीता ढुङ्गाना, हरिहर अधिकारी, सरोज खनाल र सलोन बस्नेत अभिनयमा रहनेछन् ।

फिल्मलाई बलिउड सिनेमाटोग्राफर कबीरलालले खिच्नेछन् । फिल्मको स्कृप्ट प्रतीक पौडेलले लेखेका छन् । फिल्मको कास्टिङ डिरेक्टर धनञ्जय घलानी हुन् । निर्देशक पन्तले नेपाली फिल्मलाई विश्वव्यापी बनाउने उद्देश्य स्वरूप यो फिल्ममा नेपाल र भारतीय कलाकारहरुको फ्युजन बनाएको भन्दै कुनै आशंका नगर्न आग्रह गरे ।

Comments