‘जेरी २’ को प्रदर्शन अधिकार महंगोमा बिक्री, आरआर फिल्मस् सँग सम्झौता
युवा स्टार अनमोल केसीको मुख्य अभिनय रहने फिल्म ‘जेरी २’को प्रदर्शन अधिकार बिक्री भएको छ । फिल्म फ्लोरमा जानु पूर्व नै फिल्मको प्रदर्शन तथा वितरण अधिकारमा निर्माण कम्पनि र फिल्म वितरण कम्पनि आरआर फिल्मस् बीच सम्झौता भएको हो ।
जेरी निर्माण ब्यानर अनन्या फिल्मस् का तर्फबाट निर्माता सरोज न्यौपाने र आरआर फिल्मस् का तर्फबाट वितरक रोहित कट्टेल र रत्न श्रेष्ठले ‘जेरी २’ को वितरण अधिकारको सम्झौता आदानप्रदान गरेका छन् । यो फिल्म निर्माण घोषणादेखि नै चर्चामा छ ।
निर्माता न्यौपानेले समाचारको पुष्टि गरेका छन् । हालसम्म अनमोलसँगै अपोजिट भुमिकामा रहने अभिनेत्रीमा पूर्णिका सिंजापति अनुबन्धित भएको बाहेक निर्माण टिमले अन्य कास्ट एण्ड क्रू बारेसम्म जानकारी गराएको छैन । यद्धपी हेमराज बिसीको निर्देशनमा बन्ने फिल्मको वितरण अधिकार भने आरआर फिल्मस् ले महंगोमा खरिद गरेको बताइएको छ । वितरण कम्पनिका रोहित कट्टेल भने रकमबारे मौन रहे ।
पछिल्लो समय ठुला ब्यानरका फिल्म आफ्नो कोल्टामा पारेको आरआर फिल्मस् ले यसअघि प्रदीप खड्का स्टारर फिल्म ‘प्रकाश’को वितरण गरेको थियो । यो कम्पनिले निर्माण गरेको तथा वितरणको क्रममा रहेको दयाहाङ राई र प्रकृति श्रेष्ठ स्टारर फिल्म ‘बिहे पास’ बैशाखमा रिलिज हुँदैछ ।
२०१४ मा प्रदर्शनमा आएको हिट फिल्म ‘जेरी’को सिक्वेलको रूपमा बन्न लागेको’जेरी २’ मा मुख्य भुमिका नै रहने अन्य एक अभिनेत्री भित्रिन बाँकी रहेको निर्माण टिमले बताएको छ । ‘जेरी’ मा अनमोलको अपोजिटमा आना शर्माले काम गरेकी थिइन् । सिक्वेलमा पनि आना दोहोरिने चर्चा छ । यो फिल्मको निर्माणमा न्यौपानेसँग रामकृष्ण श्रेष्ठले सहकार्य गर्दैछन् । स्कृप्टको कामलाई अन्तिम रूप दिएको निर्माण टिम अब कास्टिङ लाइनअप पूरा गर्दै फ्लोरमा जाने मिति घोषणा गर्ने तयारीमा छ ।