‘बगान’ गीतमा एकल महिलाको पीडा बोल्दै करिश्मा
अभिनेता सरोज खनालको डेब्यू निर्देशन रहेको फिल्म ‘बगान’मा समावेश पहिलो गीत सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबीच ‘उडी छुनु छ आकाश’ बोलको लिरिकल गीत सार्वजनिक गरियो ।
यो फिल्मको आगामी फागुन १२ गतेलाई प्रदर्शन मिति समेत घोषणा गरिएको छ । फिल्मको गीतले एकल महिलाले समाजबाट भोग्ने पीडा, सन्तानप्रतिको अगाध प्रेम र एक्लोपनको कथा बोलेको छ ।
सुरेश वाग्लेको शब्द रचना र हरी लम्सालको संगीत रहेको गीतमा गायिका बानिका प्रधानको स्वर सुन्न सकिन्छ । गीतका शब्दहरु मन हुडल्ने खालका छन् । गीतमा समावेश दृश्यले फिल्ममा अभिनेत्री करिश्मा मानन्धर एकल महिलाको भूमिकामा रहेको बुझाउँछ ।
निर्देशक खनालले फिल्मको माध्यमबाट आफूले विधवा आमाको पनि विवाह गर्नुपर्छ भनेर सवाल उठाएको बताएका छन् ।
सुरेश वाग्ले प्रस्तुतकर्ता र विनोद मानन्धर कार्यकारी निर्माता रहेको फिल्ममा करिश्मासंगै प्रमिल कार्की, नीर शाह, सरोज खनाल, मिथिला शर्मा, बसुन्धरा भुषाललगायतको मुख्य भूमिका छ भने अभिनेता आकाश श्रेष्ठ विशेष भूमिकामा छन् । फिल्ममा गौरीशंकर धुजुको डिओपी, नारायण जिसी र उत्सव दाहालको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन रहेको छ ।