बालगृह पुगेर ‘प्रेमगीत ३’ टिमले साट्यो सफलताको खुसी
प्रदीप खड्का स्टारर फिल्म ‘प्रेमगीत ३’ टिमले काठमाडौंको बुढानीलकण्ठस्थित बालगृह महासंघका बालबालिकासँग सफलताको खुसी साटेको छ ।
तिहारको अबसरमा लक्ष्मीपूजाको दिन मुख्य अभिनेता प्रदीप खड्का, अभिनेत्री क्रिष्टिना गुरुङ, निर्माता तथा निर्देशक सन्तोषलगायत प्रेमगीत ३ को टिम बालगृह पुगेको हो । बालगृहका ५५ जना बालबालिकासँग प्रेमगीत टिमले देउसी-भैलो खेल्दै खाना खुवाउने कार्यक्रम गर्यो ।
सोही अवसरमा निर्माता सेनले बालगृहमा रहेका ५५ जना बालबालिको एक वर्षसम्मको स्कुल शुल्क, उनीहरुलाई लत्ताकपडा, सिरक-डस्ना समेत प्रदान गरे । यसैगरी आशुसेन फिल्म्सले बालगृहको जीर्ण भवनको मर्मतसम्भार तथा रंगरोगन गरिदिएको पनि बताए ।
उक्त कार्यक्रम हुँदाको उत्सव कुनै फाइभस्टार होटलको भन्दा कम महसुस नभएको भन्दै सेनले भनेका छन्, ‘बालगृह महासंघको भवन जीर्ण अवस्थामा थियो, हाम्रो टिमले घरलाई मर्मतसम्भार गरेर रंगरोगन गरेर उज्यालो पार्दै गर्दा छुट्टै किसिमको खुसी प्राप्त भएको थियो, सायद फाइभस्टार होटलमा सेलिब्रेट गर्दा यो खुसी पाइँदैनथ्यो । सेनले उक्त क्षणमा स्वर्गीय लेखक तथा निर्देशक दाइ छेतेन गुरुङलाई सम्झेको समेत बताएका छन् ।