कार्तिक ११ बाट काठमाडौंमा ‘नेपाल युरोपेली युनियन चलचित्र महोत्सव’ हुने
नेपालमा अवस्थित युरोपियन युनियनको डेलिगेशनले ११औँ ‘नेपाल युरोपेली युनियन चलचित्र महोत्सव’को आयोजना गर्ने भएको छ । अक्टोबर २८ देखि नोभेम्बर १ अर्थात् कार्तिक ११ देखि १५ गतेसम्म चलचित्र विकास बोर्डमा हुन लागेको महोत्सवमा तेह्र युरोपेली र तीनटा नेपाली फिल्म प्रदर्शन हुने शुक्रवार युरोपियन युनियनको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
काठमाडौंपछि नोभेम्बर ५ देखि ८ सम्म अर्थात् कार्तिक १९ देखि २२ गतेसम्म मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा चलचित्र महोत्सव आयोजना हुने नेपालस्थित युरोपेली युनियनको डेलिगेशनकी कार्यवाहक प्रमुख जोयेले हिभोनेटले जानकारी गराइन् । सुर्खेतमा ५ युरोपियन र ३ नेपाली फिल्म देखाइनेछ । भौतिक तथा अनलाईन दुवै माध्यमबाट उक्त महोत्सव आयोजना गरिने बताइएको छ ।
‘दुई वर्षपछि हलमा फेरि जान पाउनु र युरोपका १३ फिल्मका साथै ३ नेपाली फिल्म प्रस्तुत गर्न पाउँदा हामी उत्साहित छौँ । फिल्म साँस्कृतिक र बौद्धिक जीवनको अग्रभागमा रहन्छ र साँस्कृतिक आदान प्रदानलाई प्रवद्र्धन गर्न र हाम्रो जीवनलाई प्रभावित पार्ने सवालहरुलाई हामी कसरी हेर्छाैं भन्ने हाम्रो बुझाइलाई सम्वृद्ध बनाउनका लागि फिल्म प्रभावकारी माध्यम हो्,’ हिभोनेटले भनिन् ।
१३ युरोपियन फिल्ममध्ये रिता हुतानेनले निर्देशन गरेको ‘गड्स् अफ मोलेन्बेक’, लोरेन्ट मिचेली र ओस्कारले निर्देशन गरेको ‘लोला’ र आराश टी. रिहाहीले निर्देशन गरेको ‘अस्कर एन्ड लिली’मा नेपाली सब्टाईटल हुने छन् । त्यस्तै, नेपालबाट अस्कार अवार्डका लागि सिफारिस भएको ‘ऐना झ्यालको पुतली’सँगै ‘येट अनदर विन्टर’ र ‘गोर्खा गल्र्स्’ नेपाली फिल्म महोत्सवमा प्रदर्शन हुनेछ ।
महोत्सवको ओपनिङ्ग फिल्म ‘गड्स् अफ मोलेन्बीक’बाट हुनेछ । महोत्सव अन्तर्गत फिल्म र फिल्म निर्माणका विभिन्न पक्षहरूसँग अन्तरक्रिया पनि आयोजना हुने युरोपियन युनियनले जानकारी गराएको छ । सुर्खेतमा ‘ऐना झ्यालको पुतली’का निर्देशक सुजित बिडारीले कर्णाली प्रदेशका फिल्मका विद्यार्थी र फिल्मकमीहरुलाई कात्तिक २२ गते मास्टरक्लास दिने कार्यक्रम राखिएको छ ।