Logo

राजधानीमा श्रष्टाहरू सम्मानित

गीतकार किरण खरेल, गायक भक्तराज आचार्य, लोकगायक कुमार बस्नेत, सङ्गीतकार शम्भुजित बाँस्कोटा, गीतकार भोला रिजाल, फिल्म निर्माता युवराज लामा र गायक एवं व्यवसायी विकास राणालाई प्रतिष्ठित स्रष्टा सम्मान प्रदान गरियो ।

चन्दन श्रेष्ठलाई गुरूश्री सङ्गीत सम्मान र शिवबहादुर सुनाम स्मृति नाग रत्न सङ्गीत पुरस्कार २०७९ सङ्गीतकार अमुल कार्की ढलीलाई प्रदान गरियो । उनीहरुलाई दोसल्ला र २५ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।

सो अवसरमा सङ्गीतकार भुपेन्द्र रायमाझी, गीतकार प्रमोद ढुङ्गाना, गायक तथा निर्देशक नारायण रायमाझी, देउडा गायक नन्दकृष्ण जोशी, नृत्य निर्देशक कमल राईलाई विशिष्ठ सम्मान प्रदान गरियो ।

कार्यक्रममा सङ्गीतकार बाँस्कोटाले सङ्गीत बोर्डको आवश्यकता औंल्याए । “स्रष्टाको सम्मान र अधिकारको लागि यो सङ्घको स्थापना गरिएको हो । चलचित्र विकास बोर्ड झैँ सङ्गीत बोर्ड भएमा हामीले पाउने अधिकारलाई नीतिगतरुपमा अगाडि बढाउन सक्छौं,” उनले भने ।

सङ्घका अध्यक्ष चेतन सापकोटाले गीतकार, गायन समाज, उत्पादक सङ्घ, रोयल्टी सङ्कलन समाजसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । “बौद्धिक सम्पत्तिको मौलिक हक संरक्षण र सम्मानजनक सहभागिताका लागि नीतिगतरुपमै अगाडि बढ्ने छौँ । अब हामी झक्झकाउने गरी आवाज उठाउने छौँ,” अध्यक्ष सापकोटाले भने ।

कार्यक्रममा कलाकारहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

Comments