Logo

मोफसल टूरमा ‘हिजो आजका कुरा’, पूर्वदेखि पश्चिम यात्रा तय

आगामी असोज २८ लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘हिजो आजका कुरा’ निर्माण टिमले दर्शकसँग साक्षात गर्न प्रचारात्मक भ्रमण तय गरेको छ । यहि शुक्रबार (भोली)बाट मोफसल प्रचार यात्रा सुरु गर्न लागेको निर्माण टिमले बताएको छ ।

वरिष्ट अभिनेता सन्तोष पन्त निर्मित तथा साकार पन्त निर्देशित फिल्मका मुख्य कलाकारहरु शुक्रबार बिहान १०:३० बजे नेपालगञ्जस्थित भाटभटेनी सुपरमार्केटमा दर्शकहरुसँग साक्षात्कार गर्नेछन् । त्यसका लागि कलाकारको जम्बो टोलीले शुक्रबार बिहान काठमाडौबाट उडान भर्नेछ ।

प्रदर्शन मिति नजिकिदै जादा प्रचारप्रसारलाई तिब्र बनाउँदै लगेको ‘हिजो आजका कुरा’ करिब १२ बर्षसम्म नेपाल टेलिभिजनमा निरन्तर प्रशारण भइ दर्शकहरुबाट सर्वाधिक माया पाएको टेलिश्रृंखला ‘हिजो आजका कुरा’ अहिले सोही नाममा ठूलो पर्दाको चलचित्रको रुपमा दर्शकमाझ आउदैछ । यसै सन्दर्भमा आफूहरुले आफ्ना प्रिय दर्शकहरुलाई प्रत्यक्ष भेट्ने चाहना स्वरुप ‘प्रमोशन टुर’ थालीएको निर्देशक साकारले जानकारी दिएका छन् ।

नेपालगञ्जपछि ‘हिजो आजका कुरा’ को जम्बो टोली शनिबार पूर्वी नेपालका तीन मुख्य शहर–धरान,इटहरी र बिराटनगर पुग्ने छ । सेड्युल अनुसार शनिबार बिहान ११ बजे धरानको भाटभटेनी सुपरमार्केट, २ बजे इटहरीको भाटभटेनी सुपरमार्केट र साँझ ४:३० बजे बिराटनगरको भाटभटेनी सुपरमार्केटमा यस चलचित्रका कलाकार सन्तोष पन्त,रमा थपलिया, ऋचा शर्मा, जेविका कार्की,दिव्यदेव,विनय कुइँकेल,अनुष्का अधिकारीलगायत निर्देशक साकार पन्तले दर्शकहरुसँग भलाकुसारी गर्नेछन् । चलचित्रको प्रचार प्रसारमा भाटभटेनी सुपरमार्केटले साथ दिएको छ ।

मोफसलको पहिलो चरणको यात्रापछि टोली दोश्रो चरणमा पोखरा, चितवन,हेटौडालगायतका शहरमा पुग्ने योजना रहेको निर्माण पक्षले जनाएको छ । गीतसंगीत तथा ट्रेलरबाट समेत दर्शकको ध्यान तान्न सफल चलचित्रमा नेपाली समाजको बर्तमान अबस्था,पारिवारिक आरोहअबरोह,नेपालीको बिदेश मोहलगायतका बिबिध समसामयिक बिषय उठान गरिएको छ ।

पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्रको कथा अभिनेता पन्तकै हो भने पटकथा सन्दिप किस्नाको छ । रवि सायमीले खिचेको चलचित्रको कार्यकारी निर्माता प्रतिभा पन्त,सह–निर्माता बैकुष्ठप्रसाद उपाध्याय र सचितकुमार मिश्र छन् । चलचित्रमा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी,ऋचा शर्मा,दिब्यदेव,रिमा बिश्वकर्मा,स्व.जयनन्द लामा,लक्ष्मी भुसाल,जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ,बिनय कुँइकेल,अनुष्का अधिकारी,निराजनप्रसाद अर्याल,सबिन शाक्य,कमला रेग्मी,रिहान केसीलगायतले अभिनय गरेका छन । सेन्सर बोर्डबाट युनीभर्सल सर्टिफिकेट प्राप्त चलचित्रको बितरण मोफसलमा एफडि र राजधानीमा आरआर फिल्मस्ले गर्दैछ ।

Comments