मोफसलका दर्शकमा ‘बाबरी’, जान्नुहोस् कहाँ कहिले पुग्दैछन् कलाकार
आगामी असोज १४ गतेबाट प्रदर्शनको तयारीमा रहेकको फिल्म ‘बाबरी’ टिमले फिल्म प्रचारको लागि मोफलस टुर तय गरेको छ । निर्देशक सुरेन्द्र पौडेलले असोज ५ गते बिर्तामोडबाट सुरु गरिने मोफसल टुर देशका ६ ठुला शहरमा आयोजना गरिने बताए ।
फिल्मको सार्वजनिक गीत संगीत र ट्रेलरले दर्शकमाझ राम्रो हाइप बनाएकाले पनि आफ्नो टिमले फिल्मको प्रचार प्रसारमा कमी हुन नदिन मोफसल टुरको आयोजना गरिएको निर्देशक पौडेलको भनाई छ । बाबरी टिम असोज ६ गते इटहरी, ७ गते नारायणगढ, ८ गते बुटबल र ९ गते पोखरामा दर्शक साक्षात्कार गरेर काठमाडौं फकिर्ने छ ।
यस्तै ९ गतेबाट १२ गतेसम्म काठमाडौंका विभिन्न ठाउँमा सांगितिक कन्सर्टको आयोजना गर्दै फिल्मको प्रचार गरिने निर्माण टिमले जानकारी दिएको छ । सुरेन्द्र पौडेलको निर्देशनमा बनेको फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ ।
यो फिल्ममा अदिति बुढाथोकी, धिरज मगर, धिरज नाडकर, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, धुर्व कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोनलगायतका कलाकारहरुको अभिनय छ ।
फिल्मलाई गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीले निर्माण गरेका हुन् । सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहरा र किशोर नेपालको लेखन रहेको फिल्ममा नरेन्द्र मैनालीको छायांकन, कालीप्रसाद बाँस्कोटा, सुजन चापागाईं र अनमोल गुरुङको संगीत, स्वयंम निर्देशक पौडेलले सम्पादन गरेका छन् ।