Logo

‘महापुरुष’ गीतः गौरीसँग हरिवंश, अरूणसँग अञ्जनाको ठूम्का |भिडियो

आउँदो कार्तिक ११ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘महापुरुष’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा हरिवंश आचार्य , गौरी मल्लसँगै डेब्यु कलाकार अरुण क्षेत्री र अञ्जना बराईली फिचर्ड छन् । गीतमा राम अविरल विष्टको शब्द तथा एसडी योगीको संगीत र स्वर रहेको छ । प्रेमिल भावना अभिव्यक्त गीतमा दुई पुस्ताको प्रेम देखाइएको छ । विवेक रसाइलीले निर्देशन गरेको गीतलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

कार्यक्रममा बोल्दै अभिनेता हरिवंश आचार्यले अहिले बजारले खोजिरहेको फिल्म ‘महापुरुष’ रहेको बताए । ‘अहिले बजारले व्यासयिकता र कलात्मक दुवै भएको फिल्म हेर्न खोजिरहेका छन् । यो फिल्मले दर्शकलाई पूर्ण मनोरंजन दिनेछ’ कलाकार आचार्यले भने । उनले फिल्म पारिवारिक ड्रामा रहेको बताए । सार्वजनिक गीतमा हरिवंशले गौरीसँग अनस्क्रिन रोमान्स गरेका छन् ।

उनीहरु प्रेमभाव गीतमा देख्न सकिन्छ । ‘गीत छायांकन गर्दा धेरै रमाईलो भयो । यो अव्यक्त हाम्रो उमेर समुहको व्यक्तिको कथा पनि भन्न सकिन्छ । केहीले यसलाई व्यक्त गर्नु हुन्छ भने केहीले भन्न सक्नु हुदैन । यो कथाले हरेकलाई छुन्छ’ अभिनेता आचार्यले भने । गीतमा बा र छोराको प्रेम सन्दर्भलाई प्रस्तुत गरिएको निर्देशक प्रदीप भट्टराईले बताए ।

फिल्म ‘महापुरूष’ आउँदो कार्तिक ११ अर्थात् भाइटीकाको भोलिपल्ट प्रदर्शन हुँदैछ । सामाजिक विषयवस्तुमा आधारित ड्रामामा मदनकृष्ण र हरिवंशसँगै गौरी मल्ल , अरुण क्षेत्री, अन्जना बराईली,रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेल लगायतको अभिनय छ ।

फिल्ममा प्रदीप भट्टराईको लेखनसँगै निर्देशन रहेको छ। सोसल ड्रामा ‘महापुरूष’मा समाजले मान्छेलाई महापुरूष बनाउने स्थितिलाई व्यङ्ग्य गरिने छ । षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् । फिल्ममा दीपक बज्राचार्यको छायांकन , मित्र डी. गुरुङको सम्पादन रहेको छ। यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गर्दै छन् ।

Comments