विदेशी भाषाको फिल्मले स्वदेशी सरह सुविधा माग्नु कानुनको बर्खिलाप: निर्माता संघ (विज्ञप्तिसहित)
आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘प्रेमगीत ३’ को प्रदर्शनको विषयलाई लिएर सार्वजनिक भएका प्रतिक्रिया र अभिव्यक्तिप्रति नेपाल चलचित्र निर्माता संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पछिल्ला केहि दिनयता संघ र संघका अध्यक्ष उपर भइरहेको नकारात्मक टिकाटीप्पणीको सम्बन्धमा उक्त संस्थाले ध्यानाकर्षण जनाएको हो ।
‘प्रेमगीत ३’ ले नेपाली फिल्मको बजार विस्तारको लागि खेलेको भूमीकाको प्रशंसा गर्दै संघले स्वदेशी बजारमै फिल्मको व्यापार तुलनात्मक रूपमा विस्तार हुन गाह्रो भइरहेको अवस्थामा भारतीय बजारलाई समेत प्रभावमा पार्न सफल भई नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय मञ्चमा गर्विलो रूपमा उपस्थित गराउन सफल भएकोमा फिल्मको सम्पूर्ण टिमलाई धन्यवाद दिएको छ । प्रेमगीतको उक्त सफलतालाई संघले नेपाली चलचित्र उद्योगको अन्तर्राष्ट्रियकरणको कोशेढुङ्गाको रुपमा लिएको बताएको छ ।
‘यसै सन्दर्भमा, व्यक्तिगत स्वार्थ प्रेरित, संस्था लक्षित केही समूहहरुबाट नेपाल चलचित्र निर्माता संघ र यसको गौरवमय इतिहासमाथी निर्मम रूपमा प्रहार गरी स्वार्थ सिद्ध गर्ने अभिप्राय अनुरुप उल्लेखित चलचित्रको प्रदर्शनको विषयलाई जोडेर हामी माथि निरन्तर मिथ्या, भ्रामक र कपोकल्पित आरोपहरु लगाइरहेका छन् जुन तथ्यहीन, झुट र चलचित्र उद्योगमा भ्रम फैलाई स्वार्थपूर्ति गर्ने अभिष्ट अनुरुप आएको हो भन्ने हाम्रो बुझाइ रहेको छ, महासचिव सुनिलकुमार थापाद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाल चलचित्र निर्माता संघ नेपालमा प्रदर्शन गरिने कुनैपनि भाषाका चलचित्रप्रति नकारात्मक नरहेको आम दर्शकहरुमा स्पष्ट पार्न चाहन्छ । हाम्रो ध्यान भनेको सदैब नेपाली सिनेमाको वृहत्तर हितको लागि मात्र रहिआएको छ र हामीले स्वदेशी सिनेमाको अस्तित्व रक्षार्थ विगतदेखि नै विदेशी सिनेमाको अतिक्रमणका विरूद्धमा लड्दै आइरहेका छौं ।’
आफुहरुको लडाइँ विशुद्ध विदेशी सिनेमाको अतिक्रमण विरूद्ध रहेको भन्दै सिनेमा व्यापारको साधन मात्र नभइ भाषा, कला, साहित्य र संस्कृतिको द्योतक रहेकोले राज्यले प्रदान गर्ने सेवा, सुविधा र सहुलियत केबल नेपाली भाषाका सिनेमाहरुलाई हुनु पर्दछ भन्ने मान्यता निर्माता संघको रहेको जनाइएको छ । ‘भाषा भनेको अभिव्यक्तिको माध्यम हो भनेकला, साहित्य, संस्कृति र भेषभुषासँग यसको अन्तर्निहित सम्बन्ध रहेको हुन्छ ।त्यसैले यो सभ्यताको प्रतीक पनि हो । देशको नियम र कानुनको अधिनमा रही जो कोहीले पनि जुनसुकै भाषाका सिनेमा प्रदर्शन गर्न सक्दछन र पाउँदछन् पनि तर विदेशी भाषाको सिनेमालाई देखाएर स्वदेशी सरहको सेवा र सुविधाको मागदाबी गर्नु वाञ्छनीय नहुनुका साथै ऐन-कानूनको बर्खिलापमा हुने र यसले भविष्यमा समेत विकृतिको सुरुवात गर्नसक्छ, विज्ञप्तिमा भनिएको छ ।
‘प्रेमगीत ३’ लाई प्रदर्शनका साथै कर तथा राजस्व छुटमा सहुलियत प्रदान गर्ने निर्माण पक्षको मागदाबी सम्बन्धमा चलचित्र विकास बोर्डबाट चलचित्र निर्माण, वितरण र प्रदर्शन ऐन तथा नियमावली मुताबिक विधी र विधान अनुरूप नै गरिनुपर्दछ भन्ने धारणा निर्माता संघले राखेको छ ।