Logo

हल बन्द गर्ने निर्णयबाट पछि हट्यो चलचित्र संघ

प्रदर्शनहरूको छाता संस्था नेपाल चलचित्र संघ भदौ २७ गते सोमबारलाई घोषणा गरेको फिल्म हल बन्द गर्ने निर्णयबाट पछि हटेको छ । शुक्रवार चलचित्र निर्माता संघ र चलचित्र संघबीचको छलफलपछिको सहमतिमा हल बन्द गर्ने निर्णय फिर्ता भएको हो ।

दुई संस्थाबीचको छलफलमा आगामी दिनमा फिल्म क्षेत्रका समस्या समाधानका लागि दुवै संघका महासचिवको नेतृत्वमा ५/५ सदस्यीय वार्ता समिति बनाएर छलफलबाट सहमति र सहकार्य गर्दै अगाडि बढ्ने र दुवै संघका सदस्यहरुलाई संयमित बनाउने निर्णय भएको छलफलपछि सार्वजनिक विज्ञप्तिमा उल्लेछ छ । जसको लागि दुबै संस्थाका महासचिव (चलचित्र संघका महासचिव नरेन्द्र महर्जन र निर्माता संघका महासचिव सुनिल कुमार थापा)को नेतृत्वमा वार्ता समिति बन्नेछ ।

यसअघि निर्माता संघले नेपालीसँगै विदेशी फिल्म पनि शुक्रवार मात्र प्रदर्शन गर्नुपर्ने निर्णय गरेपछि चलचित्र संघले आन्दोलनको संकेत स्वरुप हल बन्द गर्ने निर्णय गरेको थियो । त्यसको पहिलो कदम अनुसार आगामी सोमबारलाई हल बन्दको निर्णय बाहिर आएको थियो ।

 

Comments