असोजमा दशरथ रंगशालामा साङ्गितिक महोत्सव ‘दशैं फेस्ट’ हुने
नेपालीहरूको महान चाड बडा दशैंको उपलक्ष्यमा काठमाण्डौंको दशरथ रंगशालामा साङ्गितिक महोत्सवको आयोजना हुने भएको छ । यही आउँदो असोज १५ गते शनिवारका दिन हुने महोत्सवमा दी एज ब्यान्ड, नितेशजङ्ग कुँवर, वर्तिका एम राई, लाउरे, स्वप्नसुमन, भेक, यावेश, त्रिशाला गुरुङ, शुवानी मोक्तान, दी इलेमेन्टस ब्यान्ड लगायतको प्रस्तुति रहनेछ ।
२० हजार भन्दा बढी दर्शकको अपेक्षा गरिएको यो साङ्गीतिक महोत्सव भव्य बन्ने लक्ष्य आयोजकले राखेको छ । यस महोत्सवले सहरी युवा वर्गमा दशैंको प्रवर्द्धन गर्दै एकताको सन्देश दिने, बर्षौदेखी थलिएको इभेन्ट म्यानेजमेन्ट व्यवसायलाई हौसला बढाउने साथै नेपाली कला तथा संस्कृतिलाई युवा पुस्तासँग जोड्न सघाउ पुर्याउने आशा आयोजकको छ ।
साथै दशैं महोत्सवको टिकटक कन्टेस्टमा भाग लिएर १० जनाले पोखरा रिसोर्ट प्याकेज, विभिन्न रेस्टुरेन्टमा डिनर प्याकेज, भिआइपी एक्सेस लगायतका पुरस्कारहरू समेत पाउनेछन् । विगत २० वर्ष देखी काठमाण्डौं लगायत नेपालका प्रायः सबै सहरहरूमा विभिन्न कन्सर्ट, सडक महोत्सव लगायत विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको पार्टी नेपाल, आर्बीट्ररी ग्रुप, केटीएम लाइभ तथा अपट्रेण्डली मिडियाले संयुक्त रूपमा यो साङ्गितिक महोत्सवको आयोजना गर्न लागेका हुन् ।