Logo

चलचित्र निर्माता संघमा नवल खड्काको नेतृत्व, सबै कार्यसमिति निर्विरोध

चलचित्र निर्माताहरूको छाया संस्था नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्का निर्विरोध चयन भएका छन् । बुधबार तोकिएको उम्मेदवारी मनोनयन प्रक्रियामा प्रतिद्वन्द्वी उम्मेदवारी नपरेपछि खड्का नेतृत्वमा सम्पूर्ण टिम नै निर्विरोध चयन भएको छ ।

यसअघि वर्तमान अध्यक्ष आकाश अधिकारी पुनः दोहोरिने चर्चा रहँदा अधिकारीले दोस्रो कार्यकाल नदोहोर्याउने पुरानो प्रतिवद्धतामा अडिग रहने घोषणा गरेपछि खड्काको बिरूद्ध अर्को उम्मेदवारी नपरेको हो ।

संघको नयाँ कार्यसमितिको लागि अध्यक्ष पछिको अर्को सर्वोच्च पद महासचिवमा सुनिलकुमार थापा निर्विरोध चयन भएका छन् । भने दुई उपाध्यक्षमा उदय सुब्बा र दीपेन्द्र के खनाल निर्विरोध हुँदा सचिवमा किसान पोखरेल र कोषाध्यक्षमा ज्योतिराज राई निर्विरोध बने ।

यस्तै संघको सदस्यहरूमा माओत्से गुरुङ, ज्ञानेन्द्र देउजा, खगेन्द्र लामिछाने, रामबाबु गुरुङ, किरण नेपाली र शेखर लामा चयन भएका छन् । निर्माता संघको १६ औं वार्षिक साधारणसभा शनिबारलाई तय छ । साधारणसभा पूर्व नै मनोनयनको प्रक्रिया राखेको संघले सम्पूर्ण कार्यसमिति निर्विरोध हुँदा अब सभाबाट औपचारिक घोषणा मात्रै गर्नेछ ।

Comments