Logo

‘सम्हालिन्छ कहिले मन’ को कन्टेन्टमा टिकटक बनाउँदा एक तोला सुन जित्ने मौका !

काठमाडौं । नेपालीहरुको महान् चाड हरितालिका तिजको अवसर पारेर फिल्म ‘सम्हालिन्छ कहिले मन’ टिमले टिकटक प्रतियोगिता सुरु गरेको छ । प्रतियोगितामा सहभागी भएर सबैभन्दा धेरै भ्युज ल्याउने टिकटकरले एक तोला सुन पुरस्कार जित्नेछन् ।

प्रतियोगितामा सहभागी हुन चाहनेहरुले तिजको व्रतको दिन मंगलबार बिहान ६ बजेदेखि ‘सम्हालिन्छ कहिले मन’ का ३ वटा गीत वा ट्रेलरका कुनै पनि कन्टेन्ट छानेर टिकटक बनाउन सक्‍नेछन् । पुरस्कार जित्नका लागि उक्त टिकटकमा #skmfilm अनिवार्य लेखिएको हुनुपर्छ । १९ भदौ अर्थात् आइतबार राति १२ बजेसम्म जसले धेरै भ्युज ल्याउँछ, उसैले पुरस्कार जित्ने निर्माण टोलीले जनाएको छ, २१ गते विजेतालाई पुरस्कार वितरण गरिनेछ ।

महिला र पूरुषले संयुक्त वा छुट्टा-छुट्टै रूपमा टिकटिक बनाउन पाउँछन् । १७ भदौबाट प्रदर्शनमा आउने ‘सम्हालिन्छ कहिले मन’ को ट्रेलरसँगै तीनवटा गीत ‘जरुरी कुरा कुरा छ’, ‘हराएँ हराएँ’ र शीर्ष गीत ‘सम्हालिन्छ कहिले मन’ सार्वजनिक भइसकेको छ । यी गीतहरुले सामाजिक सञ्जालमा पनि राम्रो चर्चा पाइरहेका छन् । प्रतिस्पर्धीहरुले यी कन्टेन्टमा नै भिडियो बनाउन पाउनेछन् ।

सुदर्शन थापाको निर्देशन र एबी इन्टरनेशनलको ब्यानरमा तयार भएको फिल्ममा आकाश श्रेष्ठ, पुजा शर्मा, सोनाम तोप्देनलगायत कलाकारहरुको अभिनय छ । ‘सम्हालिन्छ कहिले मन’ अलग प्रस्तुतिसहितको त्रिकोणात्मक प्रेमकथा हो । ९० प्रतिशत सुटिङ बेलायतमा गरिएको यस फिल्मको ट्रेलर हेरेपछि सामाजिक सञ्जालमा दर्शकहरुले मेकिङ शैलिको प्रशंसा गरिरहेका छन् ।

Comments