Logo

यमबुद्धको सम्झनामा राजधानीमा शान्ति दौड हुने


काठमाडौं । आगामी असोज १ गते शनिबारका दिन यमबुद्ध फाउन्डेशनको आयोजनामा चर्चित र्‍यापर तथा गायक स्व. यमबुद्ध (अनिल अधिकारी) को सम्झनामा काठमाडौंमा “यमबुद्ध शान्ति दौड (-याली)” कार्यक्रम हुने भएको छ ।

यमबुद्ध फाउन्डेशनले आईतबार पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरी सो कार्यक्रमको बारेमा जानकारी गराएको हो । फाउन्डेशनका अध्यक्ष अम्बिका प्रसाद अधिकारीले शान्ति दौड कार्यक्रममा काठमाडौंका मेयर बालेन शाह सहित खेलकुद तथा सांगीतिक क्षेत्रका विशिष्ठ व्यक्तित्वहरुको समेत सहभागिता रहने जानकारी दिए ।
अध्यक्ष अधिकारीले देशमा शान्ति, सुव्यवस्था र विकासको कामना गर्दै शान्ति दौड कार्यक्रम गर्न लागिएको बताए । “हाम्रो चाहना देशमा शान्ति होस्, प्रगति होस् भन्ने नै हो । यमबुद्धले समाजमा गरेका योगदानहरुलाई आम युवापुस्ता र सबैमा चिनाउन यस किसिमको कार्यक्रम गरेका हौं । फाउन्डेशनले आगामी दिनहरुमा सामाजिक सेवाका कार्यहरुलाई तीव्रता दिनेछ ।”  

कार्यक्रमको सुरुवात नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडिबाट सुरु भई त्यहीँ नै समापन हुनेछ । कार्यक्रममा काठमाडौंका मेयर शाहको विशेष उपस्थिति रहनेछ । कार्यक्रममा सहभागी हुन फाउन्डेशनले सबैमा अपिल गरेको छ ।
ख्यातिप्राप्त र्‍यापरको रुपमा परिचित यमबुद्ध युवापुस्ता माझ लोकप्रिय नाम हो । यमबुद्धका अधिकांश गीतहरु चर्चित छन् । नेपालमा र्‍याप ब्याटलको प्रसंग उठाउने बित्तिकै अधिकांश युवाहरुले ‘रअ बार्ज’को नाम सम्झिन्छन् । र्‍याप ब्याटललाई नेपालमा पनि व्यावसायिक बनाउँदै लैजानुपर्ने सोचसहित यम बुद्ध, कोलिन राणा लगायतको टिमले कार्यक्रमको नाम ‘रअ बार्ज’ राख्यो ।
यम बुद्ध यो संसारमा नरहे पनि ‘रअ बार्ज’लाई चिनाउने र आजसम्मको अवस्थामा ल्याउने काममा उनको महत्वपूर्ण भूमिका रहेको यमबुद्धका सहकर्मीहरु बताउँछन् । फेरि, ‘रअ बार्ज’ यस्तो प्लेटफर्म हो, जहाँबाट लाहुरे, अहिलेका काठमाडौंका मेयर बालेन शाह जस्ता धेरै चर्चित र्‍यापर जन्मिएका छन् जो अहिले व्यावसायिक रुपमा सफल पनि मानिन्छन् ।  

Comments