‘पाथिभरा स्वतन्त्र महिला समाज’ले जित्यो पहिलो ‘वाइवाइ तीज डान्सिङ स्टार’को उपाधी
इटहरी । हिन्दु नारीहरूले विशेष रुपमा मनाउने तीजलाइ लक्षित गरेर इटहरीमा अवस्थित लक्ष्मी डान्स स्टुडियोले आुयोजना गरेको ‘वाइवाइ तीज डान्सिङ स्टार-२०७९’ उपाधि मोरङ बिराटचोकको ‘पाथिभरा स्वतन्त्र महिला समाज’ ले जितेको छ । सो ग्रुपले बिजेताको ट्रफीसँगै नगद रू. २५ हजार र अन्य पुरस्कारहरु समेत प्राप्त गरेको छ ।
यस्तै प्रतियोगिताको ग्राण्ड फिनालेबाट कंचन ग्रुप समूह दोश्रो र दर्शन महिला समूह तेश्रो भएको छ । यी २ ग्रुपले पनि बिजेताको ट्रफीसंगै क्रमशः नगद १० हजार र ५ हजार सहित अन्य पुरस्कारहरु प्राप्त गरे ।
वाइवाइ चाउचाउले मुख्य प्रायोजन गरेको ‘तीज डान्सिङ स्टार’को यो पहिलो संस्करण हो । फाइनल कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उप मेयर संगीता चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । विवाहित महिलाहरूको ७ ओटा डान्स ग्रुपले प्रतिष्पर्धीको रुपमा तीज गीतमा नाचेका थिए ।
फाइनल कार्यक्रममा लक्ष्मी डान्स स्टुडियोका डान्सरहरुले समेत आकर्षक डान्स प्रस्तुत गरेका थिए भने पुर्वेली लोक गायन क्षेत्रमा ख्याती कमाएकी गायिकाद्वय अन्जु गौतम र गंगा गौतमले पनि आफ्ना गायन प्रस्तुतिहरुले उपस्थित दर्शकलाई नचाएका थिए ।
झन्डै २ सय दर्शकको उपस्तिथि रहेको कार्यक्रम सफल भएकोमा आफू हर्षित भएसंगै अझै नृत्य क्षेत्रमा केही गर्ने हौसला मिलेको लक्ष्मी डान्स स्टुडियोकि संचालिका लक्ष्मी समाल मगरले बताइन् । उनी लामो समयदेखि नृत्य क्षेत्रमा इटहरीबाटै सक्रिय छिन् । सम्पन्न फाइनल कार्यक्रममा प्रवेशका लागी २ सय र ५ सयको टिकट निर्धारण गरिएको थियो । प्रतियोगितामा पनिता तामाङ याक्खा र रेनुका श्रेष्ठले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।