‘बुलाकी’ रिलिज हेरफेर, फागुन १९ लाई नयाँ प्रदर्शन घोषणा
यसअघि कार्तिक १८ लाई प्रदर्शन तय गरेको फिल्म ‘बुलाकी’को रिलिज हेरफेर भएको छ । निर्माण टिमले नयाँ पोस्टर सार्वजनिक गर्दै तीन महिनापछि मात्रै फिल्म रिलिज हुने घोषणा गरेको छ । अब यो फिल्म फागुन १९ मा प्रदर्शनमा आउनेछ ।
सरकारले मंसिर ४ लाईफ तोकेको प्रदेश तथा संघीय निर्वाचनले फिल्मको प्रदर्शनमा पर्ने संभावित असरलाई केन्द्रमा राखेर प्रदर्शन सारिएको निर्माण टिमले बताएको छ । पछिल्लो क्रममा लगातार धेरै नेपाली फिल्म दर्शक आकर्षण गर्न नसक्नु त्यसमा पनि एकसाथ धेरै फिल्म एकै मितिमा जुध्नुले फिल्म उधोगलाई फाईदा नपुग्ने भन्दै तत्काललाई घोषित मितिबाट फिल्म सारिएको बताइएको छ ।
लक्ष्मण सुनार निर्देशित फिल्म ‘बुलाकी’ले मुख्यतः पश्चिम नेपालको कर्णालीमा हालसम्म पनि यथावत रहेको ‘जारी प्रथा’को कथा बोल्छ। केन्द्रीय पात्रको रुपमा रहेकी अभिनेत्री पन्तको वरीपरी नै फिल्म घुम्नेछ। फिल्मको सम्पुर्ण छायांकन पश्चिम नेपालको जाजरकोट,रुकुम पश्चिम र डोल्पामा गरिएको छ ।
स्व. मोति बिष्टको प्रस्तुति र टोपेन्द्र बिष्ट निर्माता रहेको फिल्ममा नरेन खड्का, सुरक्षा पन्त र बिराज बिष्ट प्रमुख भूमिकामा हुँदा यहि फिल्मबाट सरस्वती खत्रीले ठुलोपर्दाको अभिनयमा डेब्यू गरेकी छिन् । खत्री दुई दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी मोडल हुन् । साथमा प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, उपासना वाइबा,सोनु सेढाइ, धनबहादुर राई, वसन्त परियार, लक्ष्मण देवकोटा लगायतलाई पनि देख्न सकिनेछ।
शिव ढकालले खिचेको फिल्ममा गोविन्द मधुर आचार्य,श्रीकृष्ण बम मल्ल र बादल थापाको संगीत समावेश छ । छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मले फर्स्टलुक पोस्टर रिलिजबाट नै चर्चा बटुलेको थियो ।