यसकारण कांग्रेस रोजेँः अनुपबिक्रम शाही
अभिनेता अनुपबिक्रम शाहीले राजनीतिक यात्रा सुरू गर्दै देशको सबैभन्दा ठुलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस रोजेका छन् । शुक्रबार गृहमन्त्रीसमेत रहेका कांग्रेस प्रभावशाली नेता बालकृष्ण खाँडको हातबाट पार्टीको सदस्यता लिँदै अनुप कांग्रेस पार्टी प्रवेश गरेका हुन् ।
गृहमन्त्री खाँड निवास पुल्चोकमा आयोजित कार्यक्रमका पार्टी सहमहामन्त्री तथा तरूण दल पूर्व अध्यक्ष महेन्द्र यादव, केन्द्रीय सदस्य तथा नेपाल तरूण दलका पूर्व अध्यक्षद्वय उदय समशेर जबरा, जीतजंग बस्नेतसँगै अध्यक्ष विद्धान गुरुङ लगायतको उपस्थितिमा अनुपले टिका खादासँगै पार्टी र तरूण दलको सदस्यता समेत लिए । त्यसो र गृहमन्त्री खाँड आफैमा तरूण दलका पूर्व अध्यक्ष हुन् ।
पार्टी प्रवेशसँगै अनुपले देशको कला संस्कृतिलाई रक्षा, प्रवर्धन र सम्वर्धन गर्ने पार्टी कांग्रेस रहेकोले आफ्नो झुकाव बढेको बताए । ‘म पहिलेदेखि नै लोकतन्त्रप्रति आस्थावान हुँ, तर राजनीतिक रूपमा दलगत सदस्यता लिएको थिइनँ, अनुपले भने, देश अफ्ठ्यारोमा पर्दा यसको रक्षामा लाग्दै लड्दै आएको पार्टी नै देश र जनताको पहिलो रोजाइ हुन्छ त्यसैको निरन्तरता मेरो कांग्रेस प्रवेश हो ।’
उनले आफु युवा रहेको भन्दै तरुण दलसँग आवद्ध रहेर देशका तमाम युवाहरूको पक्षमा काम गर्न उत्साहित रहेको समेत बताए । देशको मेरुदण्ड भनेकै युवा हुन्, युवाहरू अबको दिनमा राजनीतिक रूपमा अग्रपङ्ग्तिमा आउनु देशको आवश्यकता हो । चुनाबको मुखमा पार्टी प्रवेश गर्नु संयोग मात्रै रहेको भन्दै अनुपले आफ्नो राजनीतिक आस्था र श्रद्धालाई सार्वजनिक गर्नकै लागि पार्टी प्रवेश गरेको समेत बताए ।