छायाँकार पाण्डेको हृदयघातका कारण निधन
नेपाली फिल्मका छायाँकार विदुर पाण्डेको निधन भएको छ । ५५ बर्षीय पाण्डेको हृदयघातका कारण निधन भएको हो । बुधवार बिहान एक्कासी हृदयघात भएपछि गंगालाल हृदयरोग अस्पताल बाँसबारी लैजाँदै गर्दा बाटोमै निधन भएको पारिवारिक श्रोतले बताएको छ ।
पाण्डे पहिलो नेपाली डिजिटल फिल्म ‘कागबेनी’का छायाँकार हुन् । लामो समय टेलिभिजन तथा म्युजिक भिडियोमा काम गरेका पाण्डे पछिल्लो समय फिल्म छायांकनमा व्यस्त थिए उनले पन्ध्र सय भन्दा बढि म्युजिक भिडियोको छायांकन गरेका छन् भने दर्जनौंको संख्यामा टिभि कमर्शियल, वृत्तचित्र र चलचित्रहरु छायांकन गरेका छन् ।
उनले कागबेनी सहित, पण्डीत बाजेको लौरी, भुईमान्छे, जंग बहादुरको कोट, मेरो बेस्ट फ्रेण्ड, स्वर लगायतका फिल्महरु छायांकन गरेका छन् । फिल्मीनेपाल डटकम दिवंगत पाण्डेप्रति हार्दिक श्रद्धासुमन प्रकट गर्दछ । शोकाकुल परिवारमा हार्दिक समवेदना ।