झूर फिल्मले दिग्दार सौगात !
अभिनेता सौगात मल्ल नेपाली फिल्मका अभागी ‘हिरो’मा गनिन्छन् । अभिनयमा अब्बल सौगातका वर्षमै दर्जन बराबर फिल्म रिलिज हुन्छन् तर ब्राण्ड सिरिज ‘कबड्डी’ छोड्ने हो भने कमर्सियल रूपमा उनको अभिनय जोडिएका एकै फिल्म पनि सफल भएका छैनन् । अभिनय कौशलतामा भने सौगात सधैंजसो वाही वाहीका पात्र हुन्छन् ।
एक समय पैसाकै लागि जथाभावी फिल्म खेलेको आरोप पनि सौगातमाथि लाग्यो । त्यो समय उनि आफैँ ‘हो, काम आउँछ पैसा पनि आउँछ नाइँ भन्दिन’ भनेर जवाफ फर्काएका थिए । त्यो क्रम निरन्तर छ अहिले पनि कुनै निर्माताले सौगातलाई आफ्नो फिल्ममा लिन खोज्दा उनको समय मिलाउन मुश्किल नै छ । तर अभिनयमा एकल तारिफ भेट्ने अनि पटक पटक झूर फिल्म खेलर दर्शकसम्म पुग्नै नसकेको आरोप खेपेका सौगात अब भने यो ह्याङ्गबाट बाहिर निस्किने मनस्थितिमा पुगेका छन् ।
हाल भदौ ३ गतेलाई प्रदर्शन तोकेको फिल्म ‘माइकल अधिकारी’को प्रचारमा व्यस्त रहेका सौगात अलिक लचक सुनिएका छन् । सञ्चारकर्मीमार्फत दर्शकलाई फिल्म र यसले बोलेको कन्टेन्टको बारेमा बुझाउनमा व्यस्त सौगात भोलीको दिनमा झूर फिल्म खेल्न नपरोस् भन्ने कामना समेत गरिरहेका छन् । त्यसकै लागि उनले अब आफ्नै प्रोडक्सन कम्पनि खोलेको र झूर फिल्म नखेल्ने, कम फिल्म खेल्ने तर राम्रो फिल्म मात्रै खेल्ने निर्णयमा पुगेको बताए ।
‘क्वान्टिटी भन्दा क्वालिटी’को लागि आफ्नो ध्यान केन्द्रीत हुने आशय उनको थियो । ‘बनेका रिलिज भएका सबै फिल्म हिट हुन्छन् भन्ने हुन्न, काम आउँछ गर्नैपर्छ, एउटा कलाकारले फिल्म नखेलेर के गर्नु’, सौगात भन्छन्, ‘अब गल्ति नदोहोर्याउने, विगतबाट पाठ सिकेर अघि बढ्ने सोचले आफ्नै कम्पनिबाट फिल्म निर्माणको काम थालनी गर्छु, कम गर्छु झूर भन्दा राम्रो गर्छु, राम्रो स्कृप्ट नआए आफैँ हाएर गरेर टिम निर्माण गरेर आफैं राम्रो फिल्म बनाउँछु ।’
उनि भन्छन्ः विश्वासिलो निर्देशक भयो भने राम्रो प्रडक्ट निस्किन्छ, यहाँ ठुला गफ दिएर विश्वासको भ्रम छोडेर जोडिन्छ तर समयक्रममा त्यो कुरा काममा देखिन्न, मिलेको टिम पनि काम सकिने बेलासम्म भताभुङ्ग बन्छ अनि के राम्रो हुनु ।’
फिल्मको सफलतामा प्रचारले पनि अर्थ राख्ने उनको बुझाई छ । ‘कतिपय फिल्ममा हेर्नेहरूबाट चौतर्फी तारिफ आउँछ तर आम दर्शकले फिल्म रिलिज भएको, आएको गएको पत्तो नै पाउँदैनन्, अनि दुःख लाग्छ सौगात भन्छन्, पछि युट्युवमा आएपछि यो फिल्म त उतिबेलै हेर्नपर्ने रैछ भन्छन् ।’ झूर फिल्मलाई भने दर्शकले सुरूमै पन्छाइदिने भएकोले त्यसको जिम्मेवार मेकर र कलाकार सबै हुने उनको बुझाई छ ।
‘माईकल अधिकारी’मा सौगातले रियल कपल सृष्टि श्रेष्ठसँग जोडी बाँधेका छन् । नेपाली समाजले सिधा स्विकार नगरिसकेको ‘सेरोगेसी’को कथा बोलेको यो फिल्मलाई दर्शकले कसरी लिन्छन्, झूरबाट बाहिर निस्किने सौगातको कथनलाई कसरी साथ दिन्छन् त्यो भदौ ३ पछि थाहा हुनेछ ।