‘भ्वाइस अफ नेपाल’मा राजेशपायल र प्रविशाको इन्ट्री, दीप श्रेष्ठ बाहिरिए
गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’को चौथो सिजनको औपचारिक घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शो को ‘कोच टिम’ चिनाइयो । साथै प्रायोजकहरुबीच सम्झौता गरियो ।
आगामी महिनादेखि प्रसारण तयारी रहेको चौथो सिजनका लागी दुई कोच परिवर्तन गरिएको छ । चौथो सिजनका लागी राजेशपायल राई र प्रविशा अधिकारी भित्रिएका छन् । साथै प्रमोद खरेल र राजु लामाले कोचकै रुपमा निरन्तरता पाउँदा तीन सिजनसम्म कोच रहेका गायक दीप श्रेष्ठ यो सिजनबाट बाहिरिएका छन् । यो शो हिमालय टेलिभिजनबाट शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुनेछ ।
डिजिटल अडिसनमा सहभागी भएका ४१ हजार आवेदकमध्येबाट छानिएका १२० प्रतिभा ब्लाइन्ड अडिसनको तयारीमा जुटेका छन् । ब्लाइन्ड अडिसनमा प्रस्तुति दिनेमध्ये ६४ जना प्रतिभाले ब्याटल राउन्डमा प्रतिस्पर्धाको मौका पाउने निर्देशक लक्ष्मण पौडेलले बताए ।
कोच राजेशपायल र प्रविशाले चौथो सिजनमा जोडिन पाउँदा उत्साहित भएको बताए । राजेशले यसअघि नै विभिन्न मिडिया तथा दर्शकबाट आफूलाई द भ्वाइसमा कोचको रुपमा हेर्न चाहेको र त्यो चाहना पुरा भएको बताए । प्रविशाले ‘भ्वाइस किड्स नेपाल’मा कोचको भुमिका निभाइसकेकी थिइन् ।
यसैबीच, पत्रकार सम्मेलनमा चौथो सिजनका मुख्य प्रायोजकसँग सम्झौता गरियो । यस्तै भ्वाइस अफ नेपाल किड्स, हिमालय रोडिज र डान्सिङ स्टार्स नेपाल प्रसारण गरिरहेको हिमालय टेलिभिजनले चाँडै बिजनेस रियालिटी शो ‘सार्क ट्याङ्क’, नेपाल्स नेक्स्ट टप मोडल र मौलिक रियालिटी शो ‘लोकस्टार’ प्रसारण गर्ने भएको छ ।