‘जाले रूमाल’ लिएर फर्किए डिजे सन्तोष, थापाले भने: ‘लोकदोहोरी बाबा’ !
लामो समयको अन्तरालपछि डिजे सन्तोषले सांगीतिक कोशेली मार्फत दर्शक श्रोतामाझ पुनरागमन गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच उनको नयाँ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा डिजे सन्तोषसँगै टेकु कान्छा, सुनिता थेगिम, प्रिति कौर र सुरज शाही ठकुरीले स्वर भरेका छन् ।
‘जाले रूमाल’ बोलको उक्त गीतको शब्द रचना टेकु कान्छाले गरेका हुन् । गीतको भिडियो निर्देशन पवित्रा आचार्य (पाउला) ले गरेकी छिन् । गीत सार्वजनिक कार्यक्रममा कलाकार सुनिल थापा, सरोज खनाल, गौरव पहाडी, गायिका प्रिति कौर लगाउत उपस्थित थिए ।
नेपालमा लोकगीतहरूलाई नयाँपन दिने श्रेय डिजे सन्तोषलाई जान्छ । ‘चियाबारीमा’, ‘घरबेटी नानी’, ‘कलकत्ते काइयो’, ‘मै छोरी सुन्दरी’लगायत दर्जनौं नेपाली गीतलाई रिमिक्स गरेका डिजे सन्तोषले पछिल्ला डेढ दशक विदेशलाई कर्मथलो बनाएका थिए । अध्ययनका लागि थाइल्यान्ड गएका सन्तोष त्यसपछि हङकङमा संगीत क्षेत्रमै सक्रिय थिए ।
कार्यक्रममा बोल्दै कलाकार सुनिल थापाले नेपाली लोकसंगितको प्रवर्द्धनमा डिजे सन्तोषले गरेका प्रयासहरू प्रशंसनीय रहेको बताए । डिजे सन्तोषको लोक संगीतप्रतिको लगाव र साधना देख्दा उनलाई ‘लोकदोहोरी बाबा’ भनेर सम्बोधन गर्न मन लाग्ने उनले बताए ।