‘प्रकाश’ फिल्मको कविता प्रतियोगिता घोषणा, विजेतालाई डेढ लाख पुरस्कार
एक युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा भन्ने चलचित्र ‘प्रकाश’ले शिक्षकको विशेषता वा महत्वबारे कविता प्रतियोगीता घोषणा गरेको छ । निर्माता महेन्द्र अधिकारीले दिएको जानकारी अनुसार प्रतियोगीतामा विभिन्न कलेज तथा स्कूलका बिद्यार्थीहरुले सहभागीता जनाउन सक्नेछन् ।
सहभागीता जनाउनका लागि जुन कुनै कक्षामा अध्ययनरत भएपनि १२ वर्ष पुरा भई १८ वर्ष ननाघेको हुनु पर्नेछ भने बढीमा कक्षा १२ अध्ययनरत विद्यार्थीले सहभागीता जनाउन सक्नेछन् । प्रतियोगीतामा सहभागी मध्येबाट प्रथम हुनेले रु. एक लाख पुरस्कार पाउने छन् भने द्वितिय हुनेले रु. ५० हजार पुरस्कार पाउनेछन् । नेपाली र अंग्रेजी दुबै भाषलाई मान्यता दिइएको कबिताको लम्बाई १ देखि साढे एक मिनेट सम्मको हुनुपर्ने बताइएको छ ।
सहभागी हुन चाहनेहरूले कविताको भिडियो आफै बनाएर [email protected] मा पठाउन सक्नेछन् । प्रतियोगीता श्रावण २० गतेबाट शुरु भई भाद्र २० गते सम्म चल्नेछ ।
दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ । मुख्य पात्रका माध्यमबाट वर्गीय विभेदको कुरा पनि उठाइएको छ ।
विकास सुबेदीको लेखन रहेको चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । यो चलचित्रलाई आरआर फिल्मस् ले वितरण अधिकार लिएको छ ।