Logo

‘जीवन काँडा कि फूल’ भारत रिलिज घोषणा, आधा दर्जनबढि शहरमा प्रदर्शन हुने

नेपालमा सार्वजनिक प्रदर्शनमा आइसकेको फिल्म ‘जीवन काँडा कि फूल’ले नेपाल रिलिजको दुई बर्षपछि भारत प्रदर्शन सुरु गर्ने भएको छ । सार्वजनिक प्रदर्शन पश्चात विभिन्न संघ संस्था तथा विधालयहरूमा हालसम्म पनि निरन्तर च्यारेटी प्रदर्शनीलाई निरन्तरता दिईएको ऐतिहासिक कथामा आधारित फिल्म अब भारतको विभिन्न स्थानमा रहेका नेपालीमाझ प्रदर्शन हुने भएको हो ।

फिल्मकी कार्यकारी निर्मात्री जुनु गौतमले आगामी सेप्टेम्बर २ तारिखबाट भारतका विभिन्न स्थानहरूमा फिल्म एकसाथ प्रदर्शन कन्फर्म भएको बताइन् । साहित्यकार झमक घिमिरेको मदन पुरस्कार विजेता कृतिमाथी बनेको फिल्म सेप्टेम्बर २ तारिखबाट सिक्किम, दार्जिलिङ, कालिङ्गपोङ, कर्स्याङ, मिरिकसँगै भारतको उत्तरपूर्वका विभिन्न राज्यमा प्रदर्शन हुन लागेको जानकारी दिइन् ।

झमकको कृति पढिसकेका र ट्रेलर रिलिजसँगै नेपाल प्रदर्शनको समयबाट प्रतिक्षा गरिरहेका भारतमा रहेका नेपाली मूलका दर्शकमाझ फिल्मको माग भए अनुसार प्रदर्शनी तय भएको फिल्मका निर्देशक विनोद विष्टले बताए । भारतमा रहेका नेपालीमाझ फिल्म लोकप्रिय बन्ने विश्वास निर्माता समेत रहेका निर्देशक विष्टले लिएका छन् ।

विश्वव्यापी रूपमा कोरोना महामारी फैलिए पश्चात यो फिल्मको भारत प्रदर्शन रोकिएको थियो । फिल्ममा झमक सानो छँदाको भुमिकामा सिलिगुढीकी अवस्था थापा र झमकको किशोरावस्था पूर्वको भुमिकामा काठमाडौंकी रोजिता बुद्धचार्यले अभिनय गरेका छन् ।

त्यस्तै सारिका घिमिरे, किसान सुनार, उमा गिरी, मेनुका प्रधान लगायतका कलाकारहरूको अभिनय समावेश छ । झमक घिमिरेको कथा कृति बोलेको फिल्ममा मुक्ति उपाध्याय बरालको पटकथा र झमक र मुक्तीको संवादमा सहकार्य रहँदा शिव ढकालको छायाँकन, तारा थापा ‘किम्भे’को सम्पादन छ । फिल्मका कार्यकारी निर्मातामा गौतमसँगै बद्री चौहान र उमेश सुवेदी छन् ।

फिल्ममा समावेश गीतहरूमा शब्द संगीत प्रकाश शिवाकोटीको छ भने एक गीतमा झमक स्वयमंले शब्द लेखेकी छिन् । समावेश गीतहरूमा स्वर जुनु गौतम, सरिता गजमेर र मीना निरौंलाले दिएका छन् । गीतका भिडियोहरूमा कोरियोग्राफी कमल राईको छ ।

हेर्नुहोस् ट्रेलरः

Comments