‘सिमानामा काँडेतार’ फिल्म मात्र हैन अभियान र मिसन होः नवल खड्का
नवल खड्का निर्देशित फिल्म ‘काँडेतार’ले देशको सीमा रक्षाको लागि आवाज उठाउन विभिन्न सरोकारवालाहरूसँग छलफल सुरू गरेको छ । शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै देशको खुल्ला सीमा रक्षाको अभियान नै सुरू गरिएको खड्काले बताएका छन् ।
फिल्मको माध्यमबाट नेपाल र भारतबीचको खुल्ला सीमालाई व्यवस्थित गर्न काँडेतार लगाउनुपर्ने प्रस्ताव गरिएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा यस्तो प्रस्ताव गर्दै फिल्मको निर्माण टिमले विभिन्न विद्यार्थी संगठनका अध्यक्षसँग छलफल गर्यो । सीमानामा काँडेतार अभियानका संयोजक तथा निर्देशक खड्काले नेपालका लागि खुला सीमाना घातक भएको बताए ।
‘फिल्ममार्फत हामीले काँडेतार लगाउनुपर्छ भन्ने प्रस्ताव गरेका छौं । हामीले फिल्ममार्फत राष्ट्र, राष्ट्रियता र सार्वभौमसत्तालाई रक्षा गर्न चाहेका हौं,’ खड्काले भनेका छन् । मुलुकमा देशभक्ति भावनामा बनेका फिल्म रक्षात्मक स्थितिमा पुगेको भन्दै खड्काले बजारिया फिल्मको कारण परिस्थिति जटिल अवस्थामा पुगेको बताए । हलिउड र बलिउडले फिल्मको सांस्कृतिक पक्षलाई बुझे पनि नेपाली शासकले नबुझेको उनले आरोप लगाएका छन् ।
कार्यक्रममा बोल्दै एमाले निकट विधार्थी संगठन अनेरास्ववियू अध्यक्ष सुनिता बरालले फिल्मले प्रस्ताव गरेको काँडेतार अभियानमा संगठनको समर्थन हुने बताइन् । ‘सीमाको कारण जमिन गुमाउनेको आँसु मैले देखकी छु । म त्यो परिस्थितिको साक्षी हुँ ।’
सत्तारूण दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विधार्थी संघ अध्यक्ष दुजाङ शेर्पाले ‘काँडेतार अभियान दल विशेषको मुद्दा नभएर देशको मुद्दा रहेकोले सबै एक ठाउँ उभिनुपर्ने बताए । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहले राष्ट्रघाती दलाल चरित्रविरुद्ध युवा लड्नुपर्ने भन्दै काँडेतार अभियानमा संगठनको साथ हुने बताइन् ।’ राष्ट्रियताको मुद्दामा सबै एकजुट हुनुपर्नेमा कार्यक्रममा उपस्थित सबैको एक स्वर थियो ।
नेपाल पत्रकार महासंघ अध्यक्ष विपुल पोखरेलले फिल्मले गरेको काँडेतार प्रस्ताव नागरिक सामु आएको र यसको निर्णय जनताले गर्ने बताए । राष्ट्रियताकोप्रवर्धन गर्ने सवालमा नेपाली पत्रकारिताले सबैभन्दा बढी योगदान दिएको भन्दै पोखरेलले सामाजिक उत्तरदायित्वको सिद्धान्तप्रति आधारित रहेर फिल्म निर्माण हुनुपर्ने उनको तर्क थियो ।
लगातार राष्ट्रभक्ती बोल्ने फिल्म निर्माण गर्दै आएका खड्काले यो पटक देशको सीमा रक्षाको महत्वपूर्ण अभियान बोकेको फिल्म निर्माण गरेका हुन् । यो फिल्ममा खड्का नै मुख्य अभिनयमा छन् भने उनको साथमा गौरव पहारी, सुरबिना कार्की, रेविका गुरुङ लगायतको मुख्य भूमिका छ । सत्यकला राई कार्यकारी निर्माता रहेको यो फिल्मले प्रचारसँगसँगै देशको माटो रक्षा गर्न विभिन्न कार्यक्रमहरू गर्दै अघि बढ्ने खड्काले बताएका छन् । खड्काले ‘सिमानामा काँडेतार’ एक फिल्म मात्र नभएर एक अभियान र एक मिसनको रूपमा सबेले बुझ्न अपिल गरे ।