नेपाल सहित ८ देशमा एकसाथ ‘प्रकाश’, एक करोड ७२ लाखमा प्रदर्शन अधिकार बिक्री !
चलचित्र ‘प्रकाश’ भाद्र १० गतेबाट नेपाल सहित विभिन्न देशमा एकसाथ प्रदर्शन हुने भएको छ । फिल्मको विदेश राइट्स महंगो रकममा विक्री भएको निर्माण कम्पनि बिनिस इन्टटेनमेण्टले दाबी गरेको छ ।
नेपाल सहित भारत, अष्ट्रेलिया, न्यूजल्याण्ड, युरोप, जापान, अमेरिका, क्यानडा र मिडल इष्टमा एकसाथ चलचित्र प्रदर्शन हुने जानकारी निर्माण टिमले दिएको छ । उल्लेखित देशहरुमा प्रदर्शन राइट्स एक करोड ७२ लाखमा बिक्री भएको दाबी निर्माण टिमको छ । साथै अन्य केही देशहरुबाट पनि माग भइरहेको र छिट्टै नै टुंगो लाग्ने निर्माता महेन्द्र अधिकारीले बताए ।
दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ । मुख्य पात्रका माध्यमबाट वर्गिय विभेदको कुरा पनि उठाइएको छ ।
विकास सुवेदीको लेखन रहेको चलचित्रले पोष्टर रिलिज देखि नै एक प्रकारको हाइप निर्माण गरिसकेको छ । यो फिल्म वर्ष २०७९ मा प्रदर्शनको क्रममा रहेका फिल्म मध्येको एक प्रतिक्षित फिल्म हो ।
यो चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । चलचित्रलाई आरआर फिल्मस् ले वितरण गर्दैछ ।