आक्रामक प्रचारमा फिल्म ‘प्रकाश’, देशका मुख्य ६ शहरमा पुग्न प्रदीपलाई कमेडियनहरुको साथ
दर्शकसँग नजिकबाट साक्षात गर्न फिल्म ‘प्रकाश’ निर्माण टिमले देशका विभिन्न ६ शहरमा प्रचारात्मक कार्यक्रम गर्ने भएको छ । युवा पुस्ताका चर्चित कमेडियनहरुको साथमा हुने ‘प्रमोशनल टूर’ असार ३१ गते चितवनको भरतपुरबाट सुरु भई भाद्र ५ गते काठमाडौं आएर टुङ्गिने निर्माता महेन्द्र अधिकारीले बताए ।
निर्माण पक्षले दिएको जानकारी अनुसार असार ३१ र ३२ गते चितवनको भरतपुर, श्रावण ६ र ७ बुटवल, श्रावण १३ र १४ पोखरा, श्रावण २० र २१ विराटनगर, श्रावण २७ र २८ हेटौडा र भाद्र ३, ४ र ५ गते काठमाडौंमा कार्यक्रम आयोजना हुनेछ ।
भाद्र १० गते प्रदर्शनमा आउने फिल्मले प्रमोशनल कार्यक्रमका लागि बटुवा कमेडी र कमेडी टुकटुकसँग सहकार्य गरेको हो । ‘टेबल मुनीबाट’ नाम दिइएको प्रमोशनल कार्यक्रममा लिड अभिनेता प्रदीप खड्का सहित अन्य कलाकार र केमेडियनहरु आदर्श मिश्र, आयुस श्रेष्ठ, एलेन जंग राणा, आशिष घिमिरे र पुजन अधिकारी सहभागी हुनेछन् भने काठमाडौंमा अन्य कलाकारहरु पनि सहभागी हुने जनाइएको छ ।
दिनेश राउतको निर्देशन रहेको फिल्ममा प्रदिप खड्का, दिया मास्के, रेणु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।
बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको फिल्ममा विकास सुवेदीको लेखन, राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । आरआर फिल्मस् ले यो फिल्मको वितरण अधिकार खरिद गरेको छ ।