‘प्रकाश’मा प्रदीपको मेहनत, शिक्षक बन्ने सपना र पारिवारिक तनाब
चक्लेटी अनुहारका धनी प्रदिप खड्का जो लभस्टोरी फिल्ममा बढी नै रुचाइए । आफु अभिनित फिल्मबाट लाखौं दर्शकको मन जितेका प्रदिप पछिल्लो पुस्ताका स्टार अभिनेतामा गनिन्छन् । उनै प्रदिप यतिबेला फेरिएका छन् ।
अहिले सम्म प्रदिप अभिनित ६ वटा फिल्म प्रदर्शन भइसकेका छन् । उनको सातौं फिल्म ‘प्रकाश’ भाद्र १० गतेबाट प्रदर्शन हुँदैछ । फिल्ममा कर्णालीको एक युवाको पात्रमा प्रदिप देखिएका छन् ।
फिल्म कर्णालीको परिवेशमा छायाँकन भएको भएपनि यसले आम नेपाली युवाहरुको प्रतिनिधित्व गर्ने निर्णण पक्षले जनाएको छ । प्रदिप शिक्षक बन्ने सपना देखेको एक युवाको भूमिकामा छन् ।
त्यसो त फिल्मको पोष्टर रिलिज देखिनै यसको चर्चा निकै छ । अझ टिजर र सार्वजनिक दुई गीतले ‘प्रकाश’ प्रतिक्षित फिल्म बनेको छ । धेरैले प्रदिप स्टार बाट कलाकार बनेको प्रतक्रिया दिएका छन् । एउटा कलाकारलाई कलाकार बनेको भन्ने प्रतिक्रिया भन्दा सुखद अरु के होला र ।
यसैबीच निर्माण टिमले प्रदिपका दुई तस्विर सार्वजनिक गरेको छ । जहाँ प्रदिपले हलो जोतिरहेका छन् । टाउजर र सर्ट लगाएर हलो जोतिरहेका प्रदिपलाई हेर्दा लाग्छ उनी एउटा सच्चा कलाकार हुन् । जो आफ्नो पात्रमा मेहनत गर्न पछि पर्दैनन् । त्यसो त सार्वजनिक टिजर र गीतले अभिनयमा प्रदिपले गरेको मेहनत देखाइसकेको छ ।
विगतमा लगभग उस्तै पात्रमा देखिएका प्रदिप प्रकाशमा दर्शकका लागि सप्राइज भएका छन् । फिल्मले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ । मुख्य पात्रका माध्यमबाट बर्गिय विभेदको कुरा पनि उठाइएको छ । दिनेश राउतको निर्देशन रहेको फिल्ममा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।
महेन्द्र अधिकारी निर्माता रहेको बिनिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो फिल्ममा विकास सुवेदीको लेखन, राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । यो फिल्मलाई आरआर फिल्मस् ले वितरण अधिकार लिएको छ ।