‘डान्स मास्टर लिल च्याम्प्स’को डिजिटल अडिसन सम्पन्न, भोटिङ पार्टनर बन्यो ‘पे-वेल ‘
बालबालिका केन्द्रित डान्सिङ रियालिटी शो ‘डान्स मास्टर लिल च्याम्प्स’को डिजिटल अडिसन सम्पन्न भएको छ । अब डिजिटल अडिसनबाट छानिएका प्रतिभाहरूका लागी फिजिकल अडिसन सुरु गरिने निर्माण पक्षले जनाएको छ । काठमाडौँ, बिराटनगर, पोखरा, इटहरी, चितवन, आसाम र सिक्किममा फिजिकल अडिसन गरिने आयोजकले बताएको छ ।
यो बीचमा उक्त रियालिटी शो को भोटिङ पार्टनरको रूपमा आयोजकले ‘पे वेल’सँग सम्झौता गरेको छ । आइतबार एक कार्यक्रमका बीच निर्माण कम्पनि ‘थ्री प्रोडक्सन’ र ‘पे-वेल’ बिच सम्झौता भएको हो ।
‘बालबालिकामा भएको प्रतिभालाई उजागर गर्न र उनीहरूलाई प्रोत्साहन गर्न यस खालको कार्यक्रमले मद्धत गर्ने भन्दै आफूहरू यस कार्यक्रमको हिस्सा हुन पाएकोमा पे-वेलका सी.ई.वो सत्यन्द्र श्रेष्ठले खुसी व्यक्त गरे ।
शोको निर्णायकमा तेरिया फौजा मगर, रोजिया महर्जन रहेका छन् । सुपर जजको रूपमा अभिनेत्री सारंगा श्रेष्ठ रहनेछिन् भने शोको होस्ट सुमन र रीमा विश्वकर्माले गर्नेछन् । कमेडी च्याम्पियन जस्तो सफल रियालिटी शो तयार गरेको ‘थ्रि प्रोडक्सन’ले नै यस शोको निर्माण गर्न लागेको हो । शो निर्माणमा नेपा डान्स एकेडेमीले सहकार्य गरेको छ ।
डान्स मास्टरको उपाधि जित्नेले २५ लाख नगद पुरस्कार पाउनेछन् । त्यस्तै, दोस्रो र तेस्रो हुनेले क्रमशः १५ लाख र १० लाख नगद पुरस्कार हात पार्नेछन् । निर्देशक भण्डारीका अनुसार विजेताले पाउने पुरस्कार आफ्नो कोरियोग्राफरसँग ५० प्रतिशत साझेदारी गर्नुपर्नेछ ।