‘ह्रस्व दीर्घ’मा जोडिए अर्का साउथ स्टार, महंगो पारिश्रमिकमा ‘पुष्पा’ भिलेन सिनुभाई अनुबन्धित
फिल्म ‘ह्रस्व दीर्घ’मा साउथ इण्डियन फिल्मका सुप्रसिद्ध कलाकार सुनिल वर्मा अनुबन्धित भएका छन् । केही महिना पहिले मात्रै रिलिज ब्लकवस्टर फिल्म ‘पुष्पा’ का कलाकार वर्मालाई ह्रस्व दीर्घ निर्माण टिमले हालै फिल्ममा अनुबन्ध गरेको खबर सार्वजनिक गरेको हो ।
निर्देशक चन्द्र पन्तसँगको तश्वीर निर्माण टिमले सामाजिक संजालमा सार्वजनिक गरेको छ । पन्तले हैदरावाद पुगेर वर्मासँग कागजी सम्झौता गरेका थिए । निर्माण टिमले उनलाई महंगो पारिश्रमिकमा अनुबन्धित गरेको बताएको छ । यद्यपि रकम भने खुलाइएको छैन ।
पुष्पा फिल्मका ‘सिनुभाई’ पहिलोपटक कुनै पनि नेपाली फिल्ममा काम गर्न तयार भएका हुन् । दुई दिन पहिले मात्रै संसारकै ठूलो फिल्म स्टुडियो ‘रामोजी फिल्म सिटी’मा छायांकन गर्ने समाचारले मिडियामा स्थान पाइरहँदा निर्माण टिमले हालै अर्का साउथ फिल्मका चर्चित अभिनेतालाई फिल्ममा अनुबन्ध गरेको हो ।
यसअघि नै यो फिल्ममा वलिउड तथा दक्षिण भारतीय चलचित्रका स्टार अभिनेता प्रदीपराज रावत समेत अनुबन्धित भइसकेका छन् । फिल्मलाई वलिउड सिनेमाटोग्राफर कवीरलालले खिच्ने छन् ।
नीता फिल्मस् को ब्यानरमा बन्ने यो फिल्ममा हरिहर अधिकारी र नीता ढुङ्गाना मुख्य अभिनेता अभिनेत्री हुन् । धनन्जय घलानी कास्टिङ डाइरेक्टर रहेको यो फिल्ममा सरोज खनाल, सलोन बस्नेत पनि मुख्य कलाकार छन् । फिल्मको हाल स्कृप्ट लक भएसँगै प्रि-प्रोडक्सन काम चलिरहेको बताइएको छ । साउन महिनामा फिल्म फ्लोरमा जानेछ । भारतसँगै नेपालका विभिन्न स्थानमा फिल्मको छायांकन हुनेछ ।