Logo

फिल्ममा मास्टर गरेर अन्तर्राष्ट्रिय अवार्ड जितेका बैधको नेपाली फिल्मी मोह

नेपाली हलमा नयाँ वर्ष २०७९ को अबसरमा पछिल्लो पटक रिलिज फिल्म ‘ए मेरो हजुर ४’ ले आलोचनात्मक समिक्षा पायो । धेरैले नेपाली फिल्ममा लेखनमा समस्या देखाए । यो भीडमा ‘ए मेरो हजुर ४’पहिलो फिल्म होइन । दर्शकले मन पराएर हिट भएका धेरै फिल्मले लेखनमै खोट भेट्छन् । त्यसैले त नेपाली फिल्मको निर्देशन र लेखनमा समस्या देखाइरहँदा फिल्म पढेर लेखन निर्देशनमा आउने र लामो अनुभव बोकेर निर्देशनमा होमिनेहरुबाट धेरै अपेक्षा राखिन्छ ।

पछिल्लो समय अस्कर एकेडेमीसँगै अन्य फिल्म कक्षा दिने इन्स्टिच्यूटहरु नेपालमा सञ्चालनमा आउँदा त्यहाँ पढेर आउनेहरू भोलीको नेपाली फिल्म उधोग हाँक्ने सिपाही हुने आशा फिल्मी बहसहरुमा सुनिन्छन् । त्यसो त विदेशमा फिल्म पढेर नेपालमा निर्माण, निर्देशन र लेखनमा आउने क्रम पनि बढ्दो छ । निर्देशक विशाल सापकोटा अमेरिकामा फिल्म शिक्षा लिएर नेपाल फर्केका निर्देशक हुन् । उनले ‘सेल्फी किङ’ बनाए । कमर्सियल रूपमा फिल्म सफल बनेन तर संभावनावान निर्देशकको सुचीमा विशालले अब्बलता देखाए ।

हालै मिडियामा समाचार बनिरहेको निर्माणको क्रममा रहेको फिल्म ‘मायाको माया’बाट अर्का संभावनावान निर्देशकले नेपाली फिल्म मैदानमा पाइला राख्दैछन् । उनि हुन् रोहित करण बैध । यो उनको लागि ठुलोपर्दाको डेब्यू फिल्म हुनेछ । तर रोहितले ‘मायाको माया’मा डुबुल्की मार्नु पहिले नै एक लेभलमा आफुलाई प्रमाणित गरिसकेका छन् ।

उनले लण्डनको ‘नेशनल फिल्म एण्ड टेलिभिजन स्कुल’बाट फिल्म निर्देशन र टेलिभिजन मनोरञ्जन कार्यक्रम निर्माणमा मास्टर गरिसकेका छन् । उनले सन् २०१७ मा आफ्नो पहिलो प्रोजेक्ट ‘लाइफ अन रोड नेपाल’ निर्माण निर्देशन गरेका थिए । उक्त डकुड्रामा ग्रीसको ‘लेरापत्र अवार्ड्स सेरेमोनी’, सिंगापुरको ‘इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’ र ‘इन्डीफिल्म फेस्ट’ क्यालिफोर्नियामा प्रदर्शन भएको थियो । क्यालिफोर्नियामा रोहितले उक्त फिल्मबाट अवार्ड समेत जितेका थिए ।

फिल्म लेखन र निर्देशनको भोक बोकेर नेपाली रजतपटमा पाइला राख्दै गरेका रोहितको फिल्म शिक्षा र अन्तर्राष्ट्रिय फिल्म उधोगबाट प्राप्त अनुभव भोलीको दिनमा नेपाली फिल्मको कोशेढुंगा बन्ने अपेक्षा राख्न सकिन्छ । त्यसो त नेपालमा पछिल्लो समय धेरै मन पराइने जनरा फेमिली ड्रामा, लभस्टोरी र कमेडी नै हो भने समिक्षक र दर्शक दुबैबाट आलोचना खेप्ने फिल्म पनि यहि जनराका हुन् ।

पहिलो प्रोजेक्टमा नै प्रेम मिसाएर फेमिली ड्रामा उठाउँदै गरेका उनले नेपाली दर्शकलाई पहिलो स्वाद कस्तो दिनेछन् त्यसको लागि फिल्म निर्माण सम्पन्न भएर हलसम्म आउने समय पर्खिनैपर्छ । तर उनको पढाइ, विदेशी फिल्म फेस्टिभलमा उपस्थिति र अवार्ड विजेताको अनुभवले संभावना छोड्ने प्रसस्तै ठाउँ भएकोमा भने नकार्न सकिँदैन ।’कालोपोथी’ र ‘चिसो वर्ष’ निर्देशक मिन भाम हाम्रो आँखा अगाडीका उदाहरण छन् ।

Comments