Logo

चलचित्र पत्रकार संघबाट सम्मान तथा पुरस्कार घोषणा

चलचित्र पत्रकार संघ नेपालले हरेक वर्ष प्रदान गर्दै आएको सम्मान तथा पुरस्कार घोषणा गरेको छ । संघले एकसाथ तीन वर्षको सम्मान तथा पुरस्कार घोषणा गरेको हो । पछिल्ला दुई बर्षको कार्यक्रम कोरोना महामारीबीच रोकिएको थियो ।

दिनेश सिटौलाको अध्यक्षतामा संघको कार्यालयमा शनिबार बसेको बैठकले सम्मान तथा पुरस्कार घोषणा गरेको हो । संघले घोषणा कोरोना भाइरसको महामारीका कारण रोकिएको दुई वर्षको बाँकी सम्मान तथा पुरस्कारसँगै तीनै वर्षको सम्मान तथा पुरस्कार घोषणा गरेको हो ।

चलचित्र पत्रकार संघले विक्रम संवत २०७७ को चलचित्र पत्रकारिता सम्मानबाट शान्तिप्रिय र राजन घिमिरेलाई सम्मान गर्ने निर्णय गरेको छ । यस्तै सोही वर्षको चलचित्र पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय आरडी शृंखला र दिवाकर मैनालीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । पुरस्कार राशि जनही २५ हजार राखिएको छ । यस्तै सोही वर्षको चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कारबाट रीना मोक्तानलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

यस्तै वर्ष २०७८ को चलचित्र पत्रकारिता सम्मानबाट सुव्रतराज आचार्य र सन्दीप सापकोटालाई सम्मानित गर्ने निर्णय गरेको छ । सोही वर्षको चलचित्र पत्रकारिता पुरस्कारबाट कुमार आचार्य र गीता अधिकारीलाई पुरस्कृत गर्ने निर्णय गरिएको छ । पुरस्कारको राशि जनही ५१ हजार रहेको छ । यस्तै सोही वर्षको चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कारबाट मनोज न्यौपानेलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । यस्तै सोही वर्षबाट थपिएको मोफसल चलचित्र पत्रकारिता पुरस्कारबाट कास्कीका रेम विकलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

यस्तै, २०७९ को चलचित्र पत्रकारिता सम्मानबाट राजाराम फुयाँल र लक्ष्मण सुवेदीलाई सम्मान गर्ने निर्णय गरिएको छ । यसै वर्षको चलचित्र पत्रकारिता पुरस्कारबाट नेमिष गौतम र विष्णु प्रसाद सुवेदीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ भने चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कारबाट उद्धव रसाइलीलाई पुरस्कृत गर्ने निर्णय गरिएको छ । यसवर्षको मोफसल चलचित्र पत्रकारिता पुरस्कारबाट मकवानपुरका श्रीराम अर्जुनलाई पुरस्कृत गर्ने निर्णय गरिएको छ ।

‘हामीले कोरोना भाइरसको महामारीमा गर्न नसकेको पुरस्कार तथा सम्मानलाई एकै पटक प्रदान गर्ने गरि घोषणा गरेका छौँ यसलाई एकै पटक प्रदान गर्ने तयारी छ’ अध्यक्ष सिटौलाले भने । संघले एक कार्यक्रमको आयोजना गरेर सम्मान तथा पुरस्कार प्रदान गर्ने बताएको छ ।

Comments