Logo

हारती मन्दिरमा विपिनको ‘डेरा’को खोजी !

दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको फिल्म ‘के घर के डेरा’को स्वयंम्भू स्थित हारती माता मन्दिरमा शुभमुहूर्त गरिएको छ । शुक्रबार फिल्मको शुभमुहूर्तसँगै एक दृश्य पनि छायांकन गरियो ।

शुक्रबार मुहूर्त गरिए पनि फिल्मको रेगुलर छायांकन जेष्ठ २ गतेबाट मात्रै गरिने निर्देशक खनालले जानकारी दिए । फिल्मको छायांकन सेड्युल ३० दिनको राखिएको छ । सम्पुर्ण छायांकन काठमाडौं उपत्यकामा नै गरिनेछ । निर्देशक खनालले आफ्नो हरेक फिल्ममा दर्शकले सम्पुर्ण खुराक पाउने विश्वास व्यक्त गरे ।

ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् । यो फिल्ममा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माताको रुपमा छन् । सिंगे लामाको कथा रहेको फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् ।

यो फिल्मका मुख्य अभिनेता विपिन कार्कीले निर्देशक खनालसँगको दोस्रो सहकार्यले उत्साहित बनाएको बताए । फिल्मले काठमाडौंमा बस्ने सम्पुर्णको जीवनसँग मिल्दोजुल्दो हुने भन्दै आफ्नो डेरा बसाइँको अनुभव साटे । विपिनसँगै दयाहाङ राई, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने लगायतका कलाकारको अभिनय फिल्म रहनेछ । दिर्घ गुरुङको छायांकन रहने ‘के घर के डेरा’मा शंकर थापा स्माइलको संगीत, सुव्रत राज आचार्य र डिपी खनालको गीत रचना, दिर्घ खड्काको सम्पादन रहनेछ ।

Comments