होम प्रोडक्सनबाहिर हिट दिन पूजालाई चुनौती
एक समय मिडियादेखि सामाजिक सञ्जालमा व्यापक चर्चा हुन्थ्यो, अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको प्रेम प्रसंग । हुन पनि दुबैले कुम जोडेर हिँड्थे, सार्वजनिक कार्यक्रममा एकसाथ देखिन्थे, फिल्मदेखि म्युजिक भिडियोसम्म यो जोडी मज्जैले जम्थ्यो ।
तर परिस्थिति फेरिएको छ । यतिबेला पूजा र आकाश अलग बाटोमा छन् । पूजाले नयाँ प्रेमी रोजेर बिहेको तयारीमा रहँदा प्रेमको मामिलामा आकाश मौन छन् । अलग बाटो लागेको यो जोडी पुनः एकसाथ देखिँदैछ फिल्म ‘सम्झना बिर्सना’मार्फत । फिल्म रिलिज पहिले हुने प्रचारमा पनि पक्कै यो जोडी एकसाथ देखा पर्नेछन् । त्यसो त केहि दिन पहिले आयोजीत एक कार्यक्रममा आकाशले पूजाको तारिफ गरेर ‘मिडियाको हेडलाइन क्यास’ गरिसकेका छन् ।
‘रामकहानी’बाट जमेको यो जोडीले सहकार्य गरेको अर्को फिल्म ‘सम्हालिन्छ कहिले मन’ पनि प्रदर्शन हुन बाँकी नै छ । तर त्यो पहिले यो जोडीको जाँच जेठ ६ मै हुनेछ । उक्त मितिमा रिलिज हुनेछ फिल्म ‘सम्झना बिर्सना’ । रिलिजको लागि दुई हप्ता बाँकी रहँदा निर्माण टिम कलाकार बोकेर मैदानमा आउन बाँकी नै छ । अनि परिक्षाको चर्चा सुरु भएको छ पूजा र आकाशको जोडी पुनः पर्दामा जम्ने नजम्ने ?
त्यसो त सामाजिक सञ्जालमा पूजा आकाशका लोभलाग्दा फलोअर्स छन् । दुबैलाई एक देख्न चाहने फ्यानले एकसाथ राखेर सहकार्यको कसम समेत खुवाएका छन् । जन्मदिनमा केक काट्नेदेखि सुन उपहार दिने प्रतिस्पर्धा पूजा आकाशका फ्यानमा देखिन्छ । यसको प्रभाव यो प्रेमजोडी छुटिसकेपछि पर्दामा कस्तो देखिन्छ त्यो समयले बताउने छ ।
अर्कोतर्फ होम प्रोडक्सन बाहिरको फिल्ममा चल्न पूजालाई चुनौती छ । हालै रिलिज ‘म यस्तो गीत गाउँछु २’ पूजा आफैले निर्माण गरेको फिल्म थियो । फिल्मले राम्रो व्यापार गर्न सफल रह्यो । केहि महिना पहिले मात्रै पूजा पछ्याउँदै हल पुगेका दर्शक पुनः उनको फिल्मलाई साथ दिन कति पुग्छन् त्यो हेर्न बाँकी छ ।
महिना पहिले रिलिज दक्षिण भारतीय फिल्म ‘आरआरआर’ले जबरजस्त कमाई गर्यो तर सोहि फिल्ममा लिड अभिनेता रामचरणको अर्को फिल्म गत साता रिलिज हुँदा बक्सअफिसमा बामे सर्न सकेको छैन । लगातार फिल्म रिलिज हुँदा कलाकारलाई पनि घाटा हुने कुरा रामचरण उदाहरण हुन् । पूजाको मामिलामा यो कुरा कति लागुहुन्छ त्यसको लागि जेठ ६ पछिको मिति बोल्नेछ ।